एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज रोयल च्यालेन्जर्स बेंग्लोर र कोलकता नाइट राईडर्सबीच खेल हुँदैछ । खेल नेपाली समयानुसार साँझ ७:४५ बजे शारजहा रंगशालामा हुनेछ । अंक तालिको चौथो स्थानमा रहेको बेंग्लोरले तेस्रो स्थानमा रहेको कोलकतालाई चुनौती दिन लागेको हो । आजको खेलमा भारी अन्तरका साथ जित हात पार्ने टोली रन रेटका आधारमा तालिकाको शिर्षस्थानमा उक्लिने सम्भावना रहेकाे छ । तालिकाको शिर्षस्थानमा मुम्बई इन्डियन्स र दोस्रोमा दिल्ली क्यापिटल्स छ । बेंग्लोर विराट कोहलीको कप्तानीमा एबी डी भिल्लर्स, आरोन फिन्च, क्रिस मोरिस, आडम जाम्पा, मोइन अलिलगायतका उत्कृष्ट खेलाडीको साथ मैदान उत्रिदैँछ । यता, कोलकत्तामा भने दिनेश कार्तिकको नेतृत्वमा आन्द्रे रसेल, शुभमान गिल, प्याट क्युमिन्स, सुनिल नारिने लगायतका खेलाडी छन् । ‘हेड टु हेड’का आकंडा हेर्दा कोलकत्ता बलियो देखिएको छ । यी दुई टोली बीच अहिलेसम्म खेलिएका २४ खेलमध्ये कोलकत्ता १४ र बेंग्लोर १० खेलमा विजयी भएका छन् । यी दुई टोलीबीचको पछिल्लो खेलमा बेंग्लोर १० रनले विजयी भएको थियो ।








