चितवन । चितवनको राप्ती नगरपालिका, भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी बाग्मती प्रदेशका कोरोना संक्रमणबाट मुक्त भएका १६ जना प्रहरी जवानले प्लाज्मा दान (रक्तदान ) गरेका छन् ।
चेम्बर अफ कमर्शको ७०औँ स्थापना दिवसको अवसरमा मंगलवार चितवनको राप्ती नगरपालिकाको भण्डारामा आयोजित कार्यक्रममा १६ जना सशस्त्र प्रहरी जवानले प्लाज्मा दान (रक्तदान ) गरेका हुन् ।
कोराना लागेर निको भएकाले दिएको रगतबाट प्लाज्मा निकालेर जटिल लक्षणसहितका कोरोनाका बिरामीलाई बचाउन सघाउन सक्ने प्लाज्मा दान गरिएको हो ।
रक्तसञ्चार केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार काठमाडौँ, बुटवल, भक्तपुर लगायतका ठाउँबाट प्लाज्मा माग भइरहेको छ। उनले भने, ‘प्लाज्मा सङ्कलन अभियानका लागि सबै इच्छुक भएका छन्। यसले धेरैको ज्यान बचाउने छ।’
सङ्क्रमितको नतिजा नेगेटिभ आएको १४ दिनपछि ४५ दिनभित्र रगत सङ्कलन गरी प्लाज्मा बनाउनुपर्ने हुन्छ। यसका लागि लक्षण देखिएका सङ्क्रमित चाहिने पौडेलको भनाइ छ। जिल्लाको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेजसँगै पुष्पाञ्जलि अस्पतालमा गम्भीर अवस्थाका सङ्क्रमितको उपचार हुँदै आएको छ।
भरतपुर अस्पताल अध्यक्ष डा भोजराज अधिकारिले कोरोना संक्रमणमा परेका तर शरीरले प्रतिरोध क्षमता बढाउन नसक्ने (एन्टीबडी उत्पादन) अवस्थाका कोरोना संक्रमितलाई प्लाज्मा दिएर रोग प्रतिरोधात्मक क्षमता बढाउन सघाइने जानकारी दिए ।
कोरोनाको लक्षण देखिएर (ज्वारो, रुघाखोकी लगायतका लक्षण) निको भएकाबाट लिइएको रगतले अझ चाँडो एन्टीबडी (रोग प्रतिरोधात्मक क्षमता) को काम गर्ने भएकाले त्यसको वर्गिकरण गरेर रगतको प्लाज्मा उपयोग गरिने डा अधिकारीले बताए ।
भण्डारामा मंगलवार भएको प्लाज्मा दान कार्यक्रममा राप्ती नगरपालिका मेयर प्रभा बराल, उपमेयर इमान सिंह लामा,शशस्त्र प्रहरी उपरीक्षकको उपस्थिति रहेको थियो।








