चितवन : भरतपुर महानगरपालिका वडा नम्बर ४ लंकु स्थित एक दालमोठ उत्पादन गर्ने उद्योगमा आगलागी हुंँदा रू.३ करोड बराबरको क्षति भएको छ । मंगलवार बिहान ६ बजे सारस फूड इन्डष्ट्रीमा आगलागी भएको हो ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दालमोठ, पिनट, भूजिया उत्पादन गर्ने उक्त उद्योगमा लागेको आगो बिहान १० बजेमात्र नियन्त्रणमा आएको थियो ।आगलागीबाट उक्त रकम बराबरको क्षति भएको प्रारमिम्भक अनुमान गरिएको छ ।
भरतपुर महानगरपालिकाका दुई, खैरहनी नगरपालिका र नेपाली सेनाको एक/ एक ओटा दमकल, प्रहरी, शशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी प्रमुख नान्तीराज गुरुङले जानकारी दिए । बिद्युत् सर्किट चुहाबट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
उद्योगका सञ्चालक सुनील अग्रवालले आगलागीबाट सम्पूर्ण कच्चा पदार्थ, मेशीन जलेर नष्ट भएको बताए । उनका अनुसार लकडाउनको समयलाई लक्षित गरी भण्डारण गरिएको खानेतेल, घिउ, चिउरा लगायतका खाद्यवस्तु नष्ट भएका छन् । उद्योगमा रहेको प्लाण्ट मेशीन,पाहुँच मेशीन,डोमिनो रिमाइण्डर, प्रिन्टिङ, कन्भेयर मेशीनसमेत काम नलाग्ने भएको र रू.३ करोड बराबरको क्षति भएको उनले बताए । उक्त उद्योगमा १८ जना कर्मचारी, मजदूर कार्यरत छन् ।








