काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३ हजार ७९० जनामा संक्रमण देखिएको हो । योसँगै कुल संक्रमितको संख्या एक लाख ३६ हजार ६ पुगेको छ । संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ९४ हजार ५०१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ३३५ जना उपचारपछि डिस्चार्ज भएका छन् । हाल नेपालमा ४० हजार ७७८ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेसनमा रहनेको संख्या १३ हजार ८५१ छ भने होम आइशोलेसनमा २६ हजार ९२७ जना छन् । नेपालमा पछिल्लो २४ घण्टामा १५ हजार ७१४ जनाको पिसिआर विधिबाट परिक्षण गरिएको छ । क्वारेन्टिनमा रहेको संख्या ४ हजार ४७० छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७५७ पुगेको छ ।








