काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ५ हजार ७४३ जनामा संक्रमण देखिएको हो । योसँगै कुल संक्रमितको संख्या एक लाख ४४ हजार ८७२ पुगेको छ । संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ९९ हजार ६०५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ९९६ जना उपचारपछि डिस्चार्ज भएका छन् । हाल नेपालमा ४४ हजार ४७६ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेसनमा रहनेको संख्या १४ हजार ६७६ छ भने होम आइशोलेसनमा २९ हजार ८०० जना छन् । नेपालमा पछिल्लो २४ घण्टामा २० हजार ११८ जनाको पिसिआर विधिबाट परिक्षण गरिएको छ । क्वारेन्टिनमा रहेको संख्या ४ हजार ६५ छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७९१ पुगेको छ ।








