एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)टी-ट्वान्टी क्रिकेटमा किंग्स ११ पन्जाबले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ । गएराति भएको खेलमा पन्जाबले हैदराबादमाथि १२ रनको जित निकालेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा पन्जाबले दिएको १ सय २७ रनको लक्ष्य पछ्याएको हैदराबाद १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय १४ रनमा समेटियो । हैदराबादका लागि कप्तान डेभिड वार्नरले सर्वाधिक ३५ रन बनाए । यस्तै, विजय शंकरले २६ रन जोड्दा जोनी बेयरस्टोले १९ रन बनाए । मनिस पाण्डेले १५ रन बनाए ।पन्जाबका क्रिस जोर्डन र अश्रदिप सिंहले ३/३ विकेट लिए । यस अघि ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ७ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो । पन्जाबका लागि निकोलस पुरनले अविजित रहदै सर्वाधिक ३२ रन बनाए । यस्तै कप्तान केएल राहुलले २७ रन जोड्दा क्रिस गेलले २० रन बनाए । मन्दिप सिंह १७ रनमा आउट हुँदा ग्लेन म्याक्सवेलले १२ रन बनाए । पन्जाबलाई सस्तैमा समेट्न हैदराबादका राशिद खान, सन्दीप शर्मा र जासन होल्डरले २/२ विकेट लिए । जितसँगै पन्जाबले ११ खेलमा १० अंक जोडेको छ । पाँचौ स्थानको पन्जाबले प्ले अफ सम्भावना समेत जीवित राखेको छ । हैदराबादले ११ खेलमा ८ अंक जोडेको छ । हैदराबाद तालिकाको छैटौं स्थानमा रहेको छ ।








