चितवन । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आई स्टडी जि ब्वाइज र सौराहा युवा समाजले जित हात पारेका छन् । लिग अन्तर्गत आज (बुधबार) भएको पहिलो खेलमा जि व्बाइजले पानस युवा क्लबलाई २-० ले पराजित गर्यो । उसको जितमा प्रयास तामाङ र निशान्त परियारले गोल गरे । खेलको २६ औं मिनेटमा प्रयासको गोलमा जि व्बाइजले अग्रता लिएको थियो ।
५९ औं मिनेटमा निशान्तले गोल गरेपछि जि ब्वाइज २-० ले विजयी भयो । निशान्त नै म्यान अफ दि म्याच भए । यो जितपछि जि ब्वाइजले समूह ए मा महत्त्वपूर्ण ३ अंक जोडेको छ । उसको दुई खेलमा ३ अंंक भएको छ । समान खेल खेलेको पानसको पनि ३ अंंक नै छ । आजै सम्पन्न अर्को खेलमा सौराहाले नारायणी एफसीलाई ३-१ ले हरायो । उसको जितमा सुशील घलान, सौरभ लामा र अवेश शाहीले गोल गरे ।
नारायणीका सुबिर गुरुङले एक गोल फर्काए । खेलको २९ औं मिनेटमा गोल गर्दै सुशीलले सौराहालाई अग्रता दिलाए । ४२ औं मिनेटमा गोल गर्दै सौरभले अग्रता दोब्बर बनाए । ४४ औं मिनेटमा अवेशले गोल गरेपछि सौराहाले ३-० को अग्रता लियो । ६८ औं मिनेटमा सुबिरले नारायणीका लागि गोल गरे पनि हार टार्न सकेनन् ।
सौराहाका सौरभ म्यान अफ दि म्याच भए । यो जितपछि सौराहा ३ खेलमा ५ अंंकसहित समूह ए को शिर्ष स्थानमा उक्लिएको छ । समान खेल खेलेको नारायणी अंंकबिहिन हुँदै तालिकाको पुछारमा छ । लिगमा बिहीबार पनि दुई खेल हुनेछ । पहिलो खेलमा दिउँसो २:३० बजे हर्दी युवा समाज र नारायणगढ एफसी तथा दोस्रो खेलमा दिउँसो ४:३० बजे एभरेष्ट क्लब चितवन र यात्रा ग्रुप भरतपुर भिड्नेछन् ।
चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि रहेको छ ।








