एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राईडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराति भएको खेलमा कोलकाताले दिल्लीलाई ५९ रनले पराजित गरेको हो । शेख जायद क्रिकेट मैदानमा कोलकाताले दिएको १ सय ९५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३५ रनमै समेटियो । दिल्लीका लागि कप्तान श्रेयस एयरले सर्वाधिक ४७ रन बनाए । यस्तै ऋषब पन्तले २७ रन जोड्दा शिम्रन हिटमायरले १० रन जोडे । दिल्लीलाई सस्तैमा समेट्न कोलकाताका भरुण चक्रवर्तीले २० रन खर्चेर ५ विकेट लिए । पाट कुमिन्सको नाममा ३ विकेट रह्यो । यस अघि ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो । कोलकाताका लागि सुनिल नारिन र नितेश रानाले अर्धशतकीय इनिङ्स खेले । रानाले ५३ बलमा ८१ रन बनाए । नारिन ३२ बलमा ६४ रन बनाएर आउट भए । यस्तै राहुल त्रिपाठी १३ रनमा आउट भए । दिल्लीका मार्कुस स्टोनिस, एनरिच नोर्टजे र कागिसो राबडाले २/२ विकेट लिए । जितसँगै कोलकाताले ११ खेलमा १२ अंक जोडेको छ । कोलकाता तालिकाको चौंथो स्थानमा रहेको छ । दिल्लीले भने शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । दोस्रो स्थानको दिल्लीले ११ खेलमा १४ अंक जोडेको छ ।








