काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको उपचार नरोक्न अस्पतालहरुलाई आग्रह गरेको छ । आइतबार मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमका संयोजक डा. गुणराज लोहनीले विज्ञप्ती जारी कतिपय अस्पतालले कोभिड १९ का बिरामीलाई भर्ना गर्दा रकम माग गरेको र रकम जम्मा नगर्न नसक्नेलाई उपचार सेवाबाट बञ्चित गर्ने गरेको भन्दै त्यस्तो कार्य नगर्न आग्रह गरेका हुन् । ‘गरिब, विपन्न, अशक्त, असहाय, ज्येष्ठ नागरिकहरुको उपचार नेपाल सरकारले निःशुल्क गर्ने र सोका लागि बिरामीहरुका तर्फबाट स्वयं घोषणा भए मात्र पनि मान्य हुने र सो उपचार सेवा वापतको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने बारेको सूचना सबैको जानकारी लागि सार्वजनिक भएकै छ,’ विज्ञप्तीमा भनिएको छ । डा. लोहनीले यस विपरीत काम गरे अस्पतालहरु स्वंयम जिम्मेवार हुने बताएका छन् । ‘त्यस विपरीत कार्य गर्ने गराउने गरी बिरामीको स्वास्थ्यमा असर पर्न गएमा स्वयं अस्पताल नै जिम्मेवार हुने व्यवहोरा समेत जानकारी गराइन्छ ।’ उनले भनेका छन् ।मन्त्रालयले कुनै पनि बिरामीहरु उपचार खर्चको अभावमा उपचारबाट बञ्चित गर्नु अस्पताल सेवाको मर्म, स्वास्थ्यकर्मीको आचारसंहिता विपरीत हुने स्मरण गराउँदै सबै सरकारी, सामूदायिक, निजी, गैरसरकारी अस्पतालहरु र मेडिकल कलेजहरुले उपचार खर्च व्यहोर्न नसक्ने कोभिड–१९ संक्रमितको उपचार निःशुल्क गर्न आग्रह गरेको छ ।








