एजेन्सी । सनराइजर्स हैदराबादले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ । गएराति भएको खेलमा हैदराबादले बैंगलोरलाई ५ विकेटले पराजित गरेको हो । सारजाह क्रिकेट मैदानमा बैंगलोरले दिएको १ सय २१ रनको लक्ष्य हैदराबादले १४ ओभरमा १ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । हैदराबादका लागि रिद्धिमान शाहले ३९ रन जोड्दा मनिस पाण्डेले २६ रन जोडे । यस्तै, जासन होल्डरले अविजित २६ रन बनाए । बैंगलोरका युजभेन्द्र चाहलले २ विकेट लिए । वासिंगटन सुन्दर र नाभदिप शैनीले १/१ विकेट लिए । यस अघि ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय २० रन बनाएको थियो । बैंगलोरका लागि जोस फिलिपेले सर्वाधिक ३२ रन जोडे । यस्तै एबी डी भिलियर्सले २४ रन जोड्दा वासिंगटन सुन्दरले २१ रन बनाए ।गुर्किरात सिंहले अविजित १६ रन बनाए । कप्तान विराट कोहली ७ रनमा आउट हुँदा देबदुत पडिकलले पनि ५ रन मात्र बनाउन सके ।हैदराबादका सन्दीप शर्मा र जासन होल्डरले २/२ विकेट लिए । यस्तै राशिद खान,शबाज नदीम र टि नटराजनले १/१ विकेट लिए । जितसँगै हैदराबाद तालिकाको चौंथो स्थानमा उक्लिएको छ । हैदराबादले १३ खेलमा १२ अंक जोडेको छ । बैंगलोरले १३ खेलमा ७ जितसहित १४ अंक जोडेको छ । बैंगलोर दोस्रो स्थानमा रहेको छ ।








