काठमाडौँ । कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन अनिश्चित बनेको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ बीचको ११ दिन लामो संवादहीनताको अन्त्य भएर छलफलमा जुटेपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही मन्त्रिपरिषद् पुनर्गठनको तयारीबाट तत्कालका लागि पछि हटेको स्रोतले बताएको छ । प्रदेशका १८ सांसदले मुख्यमन्त्री शाहीविरुद्ध पार्टी संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि विवाद सतहमा आएको थियो । मुख्यमन्त्री शाहीले अविश्वासको प्रस्तावको पक्षमा उभिएका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाएर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका तीन जनालाई मन्त्री नियुक्त गर्ने तयारीमा थिए ।








