एजेन्सी । गत शुक्रबार टर्कीमा गएको भूकम्पको भग्नावशेषमा मानिसहरुको खोजी र उद्धार कार्य जारी छ । यस्तैमा तीन दिनपछि अर्थात् ९१ घण्टापछि चार वर्षीया एक बालिकालाई जीवीत नै उद्धार गरिएको छ । ‘हामीले ९१औँ घण्टामा एउटा चमत्कार देख्यौँ,’ इजमीरका मेयर टुंक सोयरले भनेका छन् । उद्धार टोलीले यादा नामकी बालिकालाई जीवीत उद्धार गरेको हो । यसअघि भूकम्प गएको भोलिपल्ट शनिबार राति पनि ७० वर्षीय एक वृद्धलाई जीवीत उद्धार गरिएको थियो । उद्धारमा खटिएको टोलीका उद्धारकर्मीले उद्धारको क्रममा पीडा भए पनि यसरी बालिका भेटिँदा आनन्द पनि महसुश भएको प्रतिक्रिया दिए । टर्कीको पश्चिमी क्षेत्र इजमीरमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी १ सय जनाको मृत्यु भएको पुष्टि भएको छ । जहाँ ९ सय भन्दा बढी घाइते हुनुका साथै १ सय ४७ जनाको अहिले पनि अस्पतालमा उपचार भइरहेको छ । टर्कीको समिा क्षेत्रमा गएको भूकम्पबाट छिमेकी देश ग्रीसमा पनि ठूलो क्षति भएको छ । यसअघि १९९९ मा पनि १८ हजार मानिसको ज्यान जाने गरी टर्कीमा शक्तिशाली भूकम्प गएको थियो । अन्नपूर्णपोस्टबाट








