काठमाडौँ । अमेरिकी राष्ट्रपति चुनावको मतगणना जारी रहँदा दुई उम्मेदवारबीच अझै निकट प्रतिस्पर्धा देखिँदै आएको छ । कूल ५० राज्यमध्ये ४३ स्थानको नतिजा सार्वजनिक हुँदा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पबीच कडा टक्कर देखिएको हो । नतिजाका लागि भने अझै केही दिन पर्खनुपर्ने देखिएको छ । राष्ट्रपति पदमा निर्वाचन हुन आवश्यक २ सय ७० इलेक्ट्रोलर कलेज भोट आवश्यक पर्छ । जसमा हालसम्मको सार्वजनिक नतिजाअनुसार वाइडेनले २ सय ६४ इलेक्ट्रोलर कलेज भोट पाएका छन् भने ट्रम्पले २ सय १४ भोट पाएका छन् । अब जितका लागि बाइडेनलाई कुनै एक राज्यमा जित हासिल गरे पुग्छ। वाइडेनले अमेरिकी जनतालाई सम्बोधन गर्दै धैर्य गर्न आह्वान गरेका छन् । उनले चुनावी परिणाम आफ्नो पक्षमा आउनेमा विश्वस्त रहेको बताएका छन् । ‘ब्याटलग्राउन्ड’राज्य मानिएको मिसिगनमा जित हात पारेपछि वाइडेनले आफूहरुले जित्नेमा ढुक्क भएको बताएका हुन् । यता ट्रम्पको चुनावी प्रचार अभियान समूहले भने धाँधली भएको आरोप लगाउँदै मिशिगन, पेन्सल्भेनिया र जोर्जामा मतगणना रोक्न माग गर्दै कानुनी प्रक्रिया अघि बढाएको छ । यसअघि सो समूहले विस्कन्सिनमा पुनः मतगणना माग्ने जनाएको थियो । ट्रम्पले बुधबार ह्वाइट हाउस मार्फत सम्बोधन गरि आफू विजयी भएको र आफू हार्ने एकमात्र कारण धाँधली रहेको आरोप लगाएका थिए । उनले त्यसपछि ट्वीट गरेर लगातार चुनावमा धाँधली गरेर आफूलाई पराजित गर्न खोजिएको आरोप लगाइरहेका छन् । उनले मतगणना रोक्न माग गर्दै सर्वोच्च अदालत जाने चेतावनीसमेत दिएका छन् ।








