चितवन, १८ असोज । चितवन मेडिकल कलेज (सिएमसी)ले महिलाहरुको निःशुल्क क्यान्सर र अन्य स्वास्थ्य परीक्षण गर्ने भएको छ । असोज २१ देखि २३ गते सम्म निःशुल्क परीक्षण गर्न लागेको हो । अस्पतालका निर्देशक प्रा.डा.दयाराम लम्सालले अक्टोबर महिना क्यान्सर सचेतना महिनाको अवसरमा ३५ वर्ष माथिका महिलाको निःशुल्क परीक्षण गरिने लागेको बताए ।
महिला पत्रकार, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य सेवामा कार्यरत महिला कर्मचारीलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य परीक्षण गरिने उहाँले जानकारी दिनुभयो ।
अस्पतालमा रगतबाट गरिने एचबि ब्लड सुगर, मृर्गाैलाको क्रिटिनाईन र कलेजोको एसजिपिटि परीक्षण निःशुल्क हुनेछ । यसैगरी पाठेघरको मुखको भिआईए परीक्षण र भिआईए पोजेटिभहरुका लागि निःशुल्क सर्भाईकल बायोप्सी परीक्षण समेत गरिने उहाँले जानकारी दिनुभयो ।
स्तन क्यान्सरको परीक्षणमा आवश्यकता अनुसार स्तनको भिडियो एक्सरे निःशुल्क गरिने प्रा.डा. लामिछानेले जानकारी दिनुभयो । लक्षित समूह अन्तर्गत भरतपुर महानगरपालिका स्वास्थ्य स्वयंसेविका, महानगरको मातहतका सम्पूर्ण स्वास्थ्य शाखाका महिला कर्मचारी र महिला पत्रकारहरुको असोज २१ गते परीक्षण गरिने छ ।
असोज २२ गते रत्ननगर नगरपालिका, देवघाट गाउँपालिकाका स्वास्थ्य स्वयंसेविका र मातहतका सम्पूर्ण स्वास्थ्य शाखाका महिला कर्मचारीहरुको परीक्षण गरिने उहांँले बताउनु भयो ।
यस्तै असोज २३ गते देवचुली र गैंडाकोट नगरपालिकाका स्वास्थ्य स्वयंसेविका र मातहतका स्वास्थ्य शाखाका महिला कर्मचारीको निःशुल्क परीक्षण गरिने अस्पतालले जनाएको छ ।
सबै परीक्षणहरु सिएमसी क्यान्सर इन्स्टिच्यूटको दोस्रो तलामा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुने छ ।
चितवन मेडिकल कलेजको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिूच्यूमा क्यान्सर रोगको उपचार गर्न आउनेहरुले स्वास्थ्य बीमा मार्फत् रु. एक लाखसम्म, विपन्न उपचार कोषबाट रु.एक लाखसम्मको सुविधा पाउँछन् भने प्रदेश सरकारबाट अधिकतम थप रु.दुई लाख पाउँछन् ।
सामाजिक सुरक्षा कोषमार्फत् उपचार गर्नेहरुले ८० प्रतिशत छुट पाउँछन् । अस्पतालले सरकारी अस्पतालको दररेटमा नै क्यान्सरको उपचार गर्दै आएको जनाएको छ ।
अस्पतालमा सबै उमेर समूह र सबै प्रकारका क्यान्सर रोगको उपचार हुंँदै आएको छ । अत्यधुनिक उपकरण, दक्ष र अनुभवी विशेषज्ञ चिकित्सकबाट सेवा दिंदै आएको अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटाले बताउनुभयो । अस्पतालमा क्यान्सर मात्रै नभएर मुटुलगायत सबै रोगको उपचार हुँदै आएको उहाँले बताउनुभयो ।
अक्टोबर महिनालाई विश्वभरी नै क्यान्सर सचेतना महिनाको रुपमा विभिन्न कार्यक्रम मनाउने गरिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार स्तन क्यान्सरबाट हरेक वर्ष विश्वभरी करिब ६ लाख ७० हजार महिलाहरुको मृत्यु हुने गर्दछ ।








