चितवन । चितवनमा स्क्रब टाइफस र डेंगुका बिरामी बढेका छन् । साउन १ गतेदेखि हालसम्मको तथ्यांक केलाउँदा चितवनकै ७९ जनामा स्क्रब टाइफस र २७ जनामा डेंगु देखिएको छ । चितवनमा उपचार गर्न आएका बाहिरी जिल्लाका ८६ जनामा स्क्रब टाइफस र ६ जनामा डेंगु देखिएको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले भरतपुर महानगरमा धेरै बिरामी रहेको बताउनुभयो । उहाँका अनुसार भरतपुरमा ४२ जना स्क्रब टाइफस र १५ जनामा डेंगु पाइएको छ । रत्ननगर, खैरहनीमा दश दश जना, राप्तीमा ९ जना, इच्छाकामनामा १ जनामा स्क्रबटाइफस देखिएको छ । यस्तै रत्ननगरमा ५ जना, खैरहनीमा ३ जना, कालिकामा २ जना, राप्तीमा १ जनामा डेंगु देखिएको छ । कोरोना जोखिमका बेला स्क्रब टाइफस र डेंगुको जोखिम पनि देखिन थालेको छ । प्रमुख तिवारीले विगतको तुलनामा हरेक परिवारले सरसफाईमा बढी ध्यान दिएकाले अतिजोखिम भने नरहेको बताउनुभयो । डेंगुले हरेक ३ वर्षमा महामारीको रुप लिने गरेको पाइन्छ । गत वर्ष चितवनमा ४ हजार ८ सय ३ जनामा डेंगु संक्रमण देखिएको थियो । यसपाली चिसो मौसम सुरु भैसकेकाले डेंगुको जोखिम कम रहेपनि सावधानि अपनाउन आग्रह गर्नुभयो । गत वर्ष चितवनका १ जना डेंगुको कारण ज्यान गएको थियो । बाहिरी जिल्लाका २ जना डेंगु र स्क्रब टाइफसको दुबै संक्रमणका कारण ज्यान गएको थियो । स्क्रब टाइफसको मुसामा लाग्ने किर्नाको टोकाइबाट हुने भएकाले सरसफाईमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । मुसामा हुने माइट किर्नाको टोकाइबाट फैलिने सरुवा रोग हो । यो कीरा मुख्यतया खेत, झाडी, घाँस आदि भएको ठाउँमा बस्ने मुसा प्रजातिमा पाइन्छ । डेंगु एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सङ्क्रमण हुने भाइरल ज्वरो हो । स्क्रब टाइफस र डेंगु रोगका लक्षण कोरोनाका लक्षणसँग मिल्दोजुल्दो हुन्छन् । ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने, टाउको दुख्ने लगायतका लक्षण देखिन्छ ।








