हेटौंडा । कोभिड १९ (कोरोना भाइरस) का कारण करिब ८ महिनादेखि ठप्प रहेको खेलकुदका गतिविधि मकवानपुरमा विस्तारै सक्रिय हुन थालेको छ । कोरोना संक्रमण फैलनसक्ने अवस्थालाई मध्यनजर गर्दै सरकारले सबैखाले खेलकुदका गतिविधिलाई रोक लगाएको थियो । ८ महिनादेखि थला परेको खेलकुदका गतिविधि चाडपर्वको अवसरमा विस्तारै सक्रिय भैरहेको छ । दशैंको अवसरमा मकवानपुरका केही ग्रामीण क्षेत्रमा फुटबल, भलिबल तथा क्रिकेटका प्रतियोगिताहरु आयोजना भएका थिए । अहिले शुभ दीपावलीको पूर्व सन्ध्यामा पनि ग्रामीण क्षेत्रमा फुटबल तथा भलिबल प्रतियोगिताहरु आयोजना भैरहेका छन् । मकवानपुरको मनहरी गाउँपालिका–९ रजैयामा रहेको केदारेश्वर युवा क्लबले बिहीबारबाट प्रथम रजैया कप फुटबल प्रतियोगिता सञ्चालन गरिरहेको छ भने प्रितकुमार मोक्तान स्मृति प्रतिष्ठानको आयोजनामा मनहरी गाउँपालिकाकै १ नम्बर वडामा वडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । यसैगरी हेटौंडा उपमहानगरपालिकाको १९ नम्बर वडामा रहेको तपोवन टोल विकास संस्थाले यही २५ गतेबाट टोलस्तरीय भलिबल प्रतियोगिताको आयोजना गर्दैछ । अन्य विभिन्न स्थानमा पनि फुटबल तथा भलिबल प्रतियोगिताहरु सञ्चालन भैरहेका छन् । खेलसंग सम्बन्धित व्यक्तिहरुले कोरोनाको समयमा खेलकुदका गतिविधि बन्द गर्न नहुने धारणा राखिरहेका छन् भने केहीले कोरोनाको संक्रमण फैलन सक्ने त्रास् कायमै रहेकोले अहिल्यै खेलकुदका गतिविधि गर्न नहुने प्रतिक्रिया दिइरहेका छन् । मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकराम लामाले बाहिरी मुलुकहरुमा फुटबल प्रतियोगिता सुरु भैसकेकोले नेपालमा पनि अब विस्तारै खेलकुदका गतिविधि सुरु गर्न दिनुपर्ने बताए । खेलेरै जिविकोपार्जन गर्दै आएकाहरु यो अवस्थामा थप समस्यामा रहेको उनको भनाई छ । आवश्यक सुरक्षा सावधानी अपनाएर भिडभाड नगरी खेलकुदका गतिविधि सुरु गर्नु आवश्यक रहेको उनको भनाई छ । यता मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन दाहाल खुसराजले खेलकुदले मानिसलाई स्वस्थ रहन मद्दत गर्ने भएपनि अहिले खेलकुदका गतिविधि खुला गर्ने विषयमा मन्त्री परिषद्को निर्णय हुन बाँकी रहेको बताए । ‘यो अवस्थामा गाउँगाउँमा सामान्य रुपमा खेलकुदका गतिविधि भैरहेकै छन्’, उनले भने, ‘खेलकुद परिषद्ले प्रतियोगिता गर्न स्वीकृति दिएको अवस्था छैन । यो अवस्थामा प्रतियोगिताहरु आयोजना गर्नु उचित हुँदैन भन्ने हाम्रो भनाई हो । अहिलेको अवस्थामा हामी आयोजना गर्ने र सहयोग गर्ने अवस्थामा छैनौं ।’ प्रतियोगिता आयोजना गरिरहेकाहरुलाई आवश्यक सुरक्षा सावधानी अपनाउन दाहालले अनुरोध गरे ।








