चितवन । औषधिजन्य लागुऔषधसहित दुई जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन र अस्थायी प्रहरी पोस्ट भोजाडबाट खटिएको प्रहरी टोलीले बुधबार सवारीसाधनमा जाँच गर्ने क्रममा दुई जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले जनाएअनुसार लागुऔषध ट्रामाडोल एक सय क्याप्सुल लिएर ना १ ज ६७५४ नम्बरको म्याजिकमा हिँडिरहेको बेला प्रहरीले भरतपुर–८ का २० वर्षीय बिपिन परियारलाई पक्राउ गरेको हो । पक्राउ परेका परियारलाई सोधपुछ गर्ने क्रममा उक्त लागुऔषध चितवनको कालिका–२ पदमपुरका २८ वर्षीय सागर भण्डारीसँग खरिद गरेको खुलेपछि प्रहरीले भण्डारीको कोठामा खोतलास गर्दा उनलाई समेत नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले भण्डारीको कोठाबाट लागुऔषध ट्रामाडोल २१ हजार ३६० क्याप्सुल, स्टेगन–२५ लेखिएको प्रतिबन्धित औषधिजन्य वस्तु २१ हजार २६० ट्यावलेट र ३१ हजार ५८० रुपैयाँ फेला पारेको जनाइएको छ ।
प्रहरीले लागुऔषधसहित फेला पारेका परियार र भण्डारी दुवै जनालाई चितवन जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी लागुऔषध मुद्दामा अनुसन्धान गरिरहेको जनाएको छ ।








