भरतपुर । चितवनकी पत्रकार संगीता बानियाँको स्वास्थ्य ठीकठाक भएको भए अहिले उनी रेडियोतिर समाचार वाचन वा कार्यक्रम चलाइरहेकी हुन्थिन् । तर उनको जीवनको परिस्थती बदलिएको छ । क्यान्सर रोगबाट प्रभावित संगिताको दिनचर्या विल्कुल पहिलेजस्तो छैन । उनी अहिले अस्पतालको चक्कर काटिरहेकी छिन् । अस्पतालको शैयामा किमोको डोजहरुसँग जुधिरहेकी हुन्छिन् । क्यान्सरजस्तो भयानक रोगसँग लड्नु त छँदैछ त्यसमाथि उपचारमा आर्थिक अभावले उनलाई आजभोलि धेरै नै पिरोलिरहन्छ । मनैभरि क्यान्सर जित्ने आँट बोकेर हिड्दा हिड्दै पनि आर्थिक पाटोले उनलाई झस्काइरहन्छ ।
स्तन क्यान्सर उपचारमा लाखौं लाख खर्च गरेर क्यान्सरलाई जितेपनि अहिले फेरि क्यान्सर दिमाग (ब्रेन)मा सर्दा उनलाई आर्थिक अभावले अर्को गाह्रो थपिएको हो । संगिताले अहिलेसम्मको उपचारका लागि कतै गुहारेकी थिइनन् । आफैसँग र परिवारको भरमा उपचार अगाडि बढाइरहेकी थिइन् । अब भने उनलाई सबैको साथ बिना उपचार पाउन मुस्किल जस्तै बनेको छ । संगिताको बि.सं. २०७८ सालमा भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सर पहिचान भएको थियो । स्तनको क्यान्सरको उपचार भारतको राजीव गान्धी क्यान्सर इन्स्च्यिुटमा चल्यो ।
स्तन क्यान्सरको उपचारमा ४० लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेकी उनलाई रोगलाई जितेँ भन्ने बेलामा अर्को आपत आइलागेको छ । स्तन क्यान्सरको उपचार सकिएको केही समयमै उनलाई टाउको दुख्ने समस्याले सताउन थाल्यो । राजीव गान्धीमै फ्लोअपमा जाने बेलामा परीक्षण गर्दा ब्रेस्टको कार्सिनोमा ब्रेनमा सर्न पुगेछ । जसमा तीनवटा ट्युमर देखियो । एउटालाई सर्जरी गरेर निकाल्न मिल्ने दुईवटालाई रेडियसन नै गर्नुपर्ने भन्ने दिल्लीमा सल्लाह भइसकेपछि अहिले थप उपचारको लागि उनलाई सहयोगको खाँचो परेको छ । ‘रोगलाई जित्न हिम्मत मात्र भएर हुँदोरहेनछ, पैसा बिना पाइला सार्ने मुस्किल रहेछ ।’ उनको अनुभवले यस्तै भन्छ । उनको ब्रेन क्यान्सरको सर्जरी भएको छ । अब थप रेडियसनको उपचार जारी छ ।
सर्जरी पश्चात १७ साइकल टिडीएम औषधी र रेडियसनको लागि खर्च पु¥याउने अवस्था छैन । ‘टिडीएम १’ औषधी जसको मूल्य एक पटककै एक लाख ४० हजार रुपैयाँ पर्छ । जो १७ साइकल लगाउनुपर्नेछ । १० वटा रेडियसन (सेकाइ) लगाउन उपचार बाँकी नै छ । अहिले चितवन मेडिकल कलेजको सिएमसी क्यान्सर इन्स्टिच्यूटमा उपचार गरार्ईरहेकी संगीताले आफ्नो उपचारको क्रममा चल–अचल सम्पत्ति बेचबिखन गरिएको र ऋण काढेर उपचार गर्दागर्दै पनि थप उपचारका निम्ति रकमको अभाव भएको उनी बताउँछिन् । अबको उपचारका लागि भारत जानु पर्ने भएका कारण पनि उपचार महंगो पर्ने उनको भनाई छ । रेडियसनको लागि दिल्लीमा नगई विकल्प नभएको संगिता बताउँछिन् । २९ वर्षिया संगीता एक छोरीकी आमा पनि हुन् ।
सानी छोरीसँग मन भरिने गरी उनी बस्न पाएकी छैनन् । मातृत्वको ममता मनभरि भएपनि पोख्न पाएकी छैनन् । तर फेरि स्वस्थ बनेर उनलाई मन भरिने गरि छोरी र परिवारसँग समय बिताउन मन छ । आफ्नो पत्रकारिता कर्ममा फर्किनुछ । आफू जस्तै क्यान्सर प्रभावितको लागि हिम्मत बनेर उभिने मन छ । उनी अहिलेसम्म निको हुने आँट र हिम्मत बोकेर हिडिरहेकी छिन् । हिम्मतले मात्रै रोग निको हुँदैन, उपचारका लागि आर्थिक पनि उत्तीकै महत्वपूर्ण छ । खाडी मुलुकमा रहेका श्रीमानको कमाई र ऋणधनले अहिलेसम्म जेनतेन थेगे पनि अब थेग्न सक्ने अवस्था रहेन ।
अबको उपचारको क्रममा लाग्ने ४० लाख रुपैयाँभन्दा बढी खर्चको लागि उनलाई यतिबेला हामी सबैको साथ र सहयोगको खाँचो छ । उनको हिम्मतमा हाम्रो स–सानो सहयोगले इट्टा थपिनेछ । यतिबेला संगिता बानियाँ बचाउ अभियान पनि चलिरहेको छ । त्यहीँ मार्फत वा प्रत्यक्ष रुपमा उनलाई सम्पर्क गरेर पनि हामीले सहयोग गर्न सक्नेछांै । मनका धनीहरु मिलेर संगीतालाई उपचारमा सहयोग गर्न सकिएमा त्योभन्दा ठूलो मानवीय धर्म अरु केही हुने छैन ।
(तलको क्युआर स्क्यान गरेर पनि संगीतालाई सिधैं सहयोग गर्न सक्नुहुनेछ ।)









