भरतपुर । चितवनको खैरहनी नगरपालिकाले आफ्ना नगरावासीको लागि निःशुल्क रगत उपलब्ध गराउने भएको छ । नगरपालिकाले चितवन जिल्लाभित्रका अस्पतालहरूमा उपचार गराउने नगरवासीलाई रगत निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको हो । खैरहनी नगरापलिका र नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसंचार केन्द्र भरतपुरबीच निशुल्क रगत उपलब्ध गराउने विषयमा गत मंगलबार सम्झौता भएको हो । सम्झौता आगामी बैशाख १ गतेदेखि लागु हुनेछ ।
सम्झौतामा खैरहनी नगरपालिकाको तर्फबाट नगर प्रमुख शशी कुमार खनिया तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनको तर्फबाट सोसाईटीका सभापती हरि प्रसाद पौडेलले हस्ताक्षर गर्नुभएको हो । खैरहनी नगरपालिकाका नगरवासीलाई रगत र रक्ततत्व प्रादेशिक रक्तसंचार केन्द्र भरतपुरबाट उपलब्ध गराइनेछ । सुविधा लिनका लागि नगरवासीले स्थायी बसोबास परिचयपत्र र नगरपालिका अन्तर्गत कार्यरत कर्मचारीहरुलाई परिचयपत्रका आधारमा नगरवासी र कर्मचारीहरूले निशुल्क रगत प्राप्त गर्न सक्नेछन् ।
नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरि प्रसाद पौडेलले रकम अभावमा रक्ततत्वको अभाव नहोस भन्ने उद्देश्यले महत्चपुर्ण सम्झौता भएको भन्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो । उपत्यका बाहिरकै सबैभन्दा ठुलो मेडिकल हव भएकोले चितवन जिल्लामा वार्षिक रूपमा कम्तीमा ६० हजार युनिट रगतको आवश्यकता पर्ने तर रक्तदाताको संख्या कम भइरहेको समेत उहाँले जानकारी दिनुभयो । नगरप्रमुख शशी कुमार खनियाले नगरवासीको स्वास्थ्य सेवामा पहुँच पुर्याउन नगरपालिकाले अनवरत लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्दै यस कार्यक्रमलाई आगामी वर्षहरूमा समेत बजेटमा समावेश गर्ने बताउनुभयो ।
नगरपालिकाले रक्तदान कार्यक्रमलाई प्रोत्साहान गर्नका लागि नगरपालिका भित्र रक्तदान कार्यक्रम योजना गर्ने सघं संस्थालाई आ.व २०७९/८० देखि नै प्रति रक्तदाता रुपैँया सयका दरले अनुदान उपलब्ध गराउदै आईरहेको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक नविन अधिकारीले जानकारी गराउनुभयो । कार्यक्रममा नगरप्रमुख खनियासहित नगरउपप्रमुख कविता उप्रेती, प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीहरूको सहभागिता थियो ।








