बर्दिया । बारबर्दिया नगरपालिका–९, वनगाईका ५० वर्षीय चन्द्रबहादुर थारू दैनिक ज्यालामजदुरी गर्न ३२ किलोमिटर साइकलमा यात्रा गर्छन् । मुक्त कमैया बस्तीमा बसोबास गर्दै आएका उनको दैनिक कमाइ भने पाँच सय रुपियाँ मात्र हो । आजको गोरखापत्र दैनिकमा समाचार छ, चन्द्रबहादुर मात्र होइन, उनका थुप्रै साथी ज्यालामजदुरी गर्न ३२ किलोमिटर साइकल चलाएर प्रत्येक दिन बिहान गुलरिया बजार पुग्छन् ।
मुक्त कमैयाका लागि सरकारले व्यवस्था गरेको जग्गामा उनीहरूको बसोबास छ । धेरै मुक्त कमैया आफ्नो गाउँमा रोजगारी नभएपछि साइकल चलाएरै रोजगारीको खोजीमा सदरमुकाम गुलरिया पुग्छन् । चन्द्रबहादुरले भभने, “कामको खोजीमा गुलरियासम्म बिहानबेलुका ओहोरदोहोर गर्दा ३२ किलोमिटर साइकलबाटै यात्रा हुन्छ तर कुनै कुनै दिन त काम नपाइँदा रित्तै फर्किनु पर्छ ।”
वर्षभरिमा केही दिन मात्र गाउँमै कृषिको काम पाइन्छ । वनगाईका अर्का मुक्त कमैया मङ्गतु थारूले कहिलेकाहीँ गुलरिया ढिला पुग्दा काम नपाइने बताए । उनीहरू गुलरियामा ज्यालामजदुरीको काम गर्न घरबाट बिहान ६ बजे नै निस्कन्छन् । घरबाटै खाना र खाजा बनाएर कार्यस्थलमा जानु उनीहरूको दैनिकी हो ।








