चितवन । चितवनको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपेरीटेण्डेण्ट डा.राजन पाण्डेले राजिनामा दिनुभएको छ । अस्पतालका ४१ औं मेसुको रुपमा जिम्मेबारी लिएर अस्पतालमा आएको दुई महिना मै पाण्डेले राजिनामा दिनुभएको हो । पाण्डेले बुधबार स्वास्थ्य सेवा विभागमा राजिनामा पत्र बुझाउदै चिकित्सक मान्छे भरतपुर अस्पतालको व्यवस्थापन पक्ष समालेर काम गर्न भन्दा बिरामीकै उपचारमा सहजता हुने बताउनुभएको छ । राजिनामासँगै उहाँले निमिक्त मेसूको जिम्मा डा.जगन्नाथ तिवारीलाई दिनुभएको छ । पाण्डे गत भदौ २८ गते भरतपुर अस्पतालमा मेडिकल सुपरीटेण्डेण्टको रुपमा हाजिर हुनुभएको थियो । उहाँले यो अबधिमा अस्पतालमा साँघुरो अबस्थामा रहेको आकस्मिक कक्षको काम अगाडी बढाउने, लामो समय रोकिएका खरिद प्रकृया र पिसिआर परीक्षणलाई व्यवस्थित बनाउने लगाएतका कार्यहरु अगाडी बढाएको बताउनुभएको छ । राजिनामा दिएपछि डा.पाण्डे आज (बिहीबार)बाट बिदामा बस्दै हुनुहुन्छ । उहाँको राजिनामा स्वीकृत भने भैसकेको छैन् । पाण्डेले राजिनामाको अन्य कारण नखुलाए पनि अस्पताल भित्रको राजनिती र खिचातानीको कारण राजिनामा दिएको हुन सक्ने बुझिएको छ । भरतपुर अस्पतालमा राजनीतिकै कारण पटक पटक मेसु फेरिने गरेका छन् । यस अघिका मेसु श्रीराम तिवारीले १४ महिना काम गरेर केन्द्रिय कारागार अस्पतालमा सरुवा भएको थियो ।








