हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेशसभा संसदीय दलको नेताको हैसियत गुमाएपछि मन्त्रिपरिषद् विस्तार गरेका छन्।
नेपाली कांग्रेसका पाँच जना मन्त्रीले राजीनामा दिएर संसदीय दलमा दर्ताको लामा माथिको अविश्वासको प्रस्तावको पक्षमा हस्ताक्षर गरेका थिए ।
त्यीनै रिक्त मन्त्रालयमा लामाले तीनमा मन्त्री नियुक्त गरेका हुन् । लामाले सांसद गोविन्द लम्साललाई आन्तरिक मामिला मन्त्रालय दिएका छन्।
सांसद माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरे पनि मन्त्रालय तोकिएको छैन।
नयाँ मन्त्रीहरूको आजै शपथग्रहण गर्नेगरी तयारी गरिएको छ।
संसदीय दलको अविश्वास प्रस्तावको पक्ष-विपक्षमा मतदान हुँदा लामाले १५ मत मात्रै पाएका थिए। विपक्षमा २२ मत थियो।
बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन्। संसदीय दलको नेता रिक्त भएसँगै बुधबार नयाँ नेता चयनका लागि मतदान हुँदैछ।








