एजेन्सी । इटालियन क्लब युभेन्ट्स यूईएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा हंगेरीयन क्लब एफटिसीलाई २-१ गोल अन्तरले पराजित गर्दै युभेन्ट्स अन्तिम १६ मा पुगेको हो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले एक एक गोल गरे । एफटिसीका म्यर्टो युज्नीले एक गोल फर्काए । एलिनाज स्टेडियममा सुरुवाती १ गोलको अग्रता उल्टाएर युभेन्ट्सले जित निकालेको हो । खेलको १९ औं मिनेटमा युज्नीले गोल गर्दै एफटिसीलाई अग्रता दिलाएका थिए । तर, खेलको ३५ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई १-१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको इन्जुरी समयमा मोराटाले गोल गर्दै युभेन्ट्सलाई २-१ को जित दिलाए । जितसँगै युभेन्ट्सले समूह ‘जी’ मा ४ खेलमा ९ अंक जोड्यो । युभेन्ट्स दोस्रो स्थानमा रहेको छ । एफटिसी १ अंक जोडेर तालिकाको पुछारमा रहेको छ ।








