चितवन । लामो समयमसम्म देशभर लकडाउन भइरहेका बेला यसको ठूलो असर तरकारी खेतीमा परेको छ । यो समय स्थानीय उत्पादनको उपयुक्त समय भए पनि बजारसम्म तरकारी नपुग्दा किसान मारमा परेका छन् ।
जसका कारण तरकारी बारीमा कुहिने अबस्था रहेको किसानहरू बताउंँछन् । तरकारीको माग राम्रै भए पनि बजार हुँदै उपभोक्तामाझ पुग्न नसक्दा यो अवस्था आएको हो । स्थानीय प्रशासनले तरकारी ढुवानी र वितरणमा कडाइ गर्दा आफ्नो तरकारी खेर गएको किसानको गुनासो छ । भरतपुर महानगरपालिका २६ का खत्रौलीका किसान दीपक तिमिल्सिना आफ्नो बारीमा भएको तरकारी बिक्री नहुंँदा चिन्ता थपिएको बताउंँछन् । “स्थानीय बजारमा कम खपत हुन्छ, बजार लैजान पाएको छैन,” उनले भने । तिमिल्सिनाले ११ बिघामा तरकारी लगाउंँदै आएका छन् । अहिले उनको बारीमा गोलभेडा, बोडी, घिउ सिमी बिक्रीका लागि तयारी अवस्थामा छन् । लकडाउनअघि तरकारीको सहज आपूर्ति भए पनि अहिले तरकारी बिक्री ठप्पजस्तै भएको उनले बताए ।
तरकारी खेतीका लागि पकड क्षेत्र मानिएको पश्चिम चितवनमा ढुवानी सहज नहुंँदा र उपभोक्ताको घरमा सहजै पुग्न नसक्दा किसानको उत्पादन खेर गएको हो ।
भरतपुर महानगरपालिका २५ का अर्का किसान अनुप सुवेदीले १५ बिघामा तरकारी लगाएका छन् । तर बजारसम्म पुर्याउन नपाउंँदा समस्या भएको उनी बताउंँछन् । “गाउंँघरका पसलेले केही मात्रामा त लान्छन्,” उनले भने, “तर मेरो उत्पादन बढी छ । खपत न्यून छ ।” उनका अनुसार बेलाबेलामा तरकारी खेतीमा मूल्यको समस्या आए पनि बिक्री नै नहुने समस्या भने पहिलोपटक आएको हो ।स्थानीय उत्पादनका लागि ढुवानी सहज नभए पनि दैनिक दर्जनौं ट्रक तरकारी भारतबाट आइरहेका छन् । स्थानीय उत्पादनले बजार नपाउँदा सरकारले भारतीय तरकारी गाडीलाई रोक लगाउनुपर्ने तर्क राख्छन् खैरहनी नगरपालिका ३ का किसान नारायण खड्का । “सबैभन्दा बढी समस्या भारतीय तरकारीले गरेको छ,” उनले भने, “तत्काल यसमा सरकारले रोक लगाउनुपर्छ ।” यो समय नेपालकै उत्पादनले पुग्ने भएकाले भारतीय तरकारी आवश्यक नरहने उनको भनाइ छ । यसका लागि स्थानीय प्रशासन र स्थानीयतहले सहज रूपमा उपभोक्ताको घर–घरमा तरकारी पुर्याउने वातावरण सिर्जना गर्नुपर्ने उनले बताए ।
महानगर तरकारी तथा फलफूल बजार नारायणगढका निर्देशक थीरप्रसाद धिताल तरकारीको माग उच्च भए पनि बजारै बन्द हुंँदा किसानले थप घाटा बेहोर्नुपरेको बताउंँछन् । “चैत १८ गतेसम्म त तरकारी बजार खुलाएका थियौं,” उनले भने, “भीड बढी भएका कारण पूर्ण रूपमा प्रशाशनले बन्द गरिदियो ।” तरकारी आपूर्ति र वितरण उच्च सावधानीका साथ सुचारु गर्नुपर्ने धितालले बताए । यहांँको तरकारी तथा फलफूल बजारबाट काठमाडौं, बुटवल, पोखरा, तनहुँलगायत जिल्लामा आपूर्ति हुने गरेको छ । यहांँ स्थानीय तरकारी दैनिक ७५ टन, बाह्य जिल्लाबाट ५० टन र भारतबाट ७५ टन बराबरको आपूर्ति हुने गरेको धितालको भनाइ छ
आपूर्ति कम, मूल्य बढी
बारीमा तरकारी खेर गएर बिक्री नभएको अवस्थामा उपभोक्ता भने दोब्बर मूल्य तिरेर किन्न बाध्य छन् । सडकका चोक, गल्लीमा रहेका पसलहरूले खरिद गरेकोभन्दा दोब्बर मूल्यमा तरकारी बिक्री गर्दै आइरहेका छन् ।किसानको बारीबाट झन्डै आधा मूल्यमा तरकारी ल्याएर उनीहरूले दोब्बरमा बेच्ने गरेको पाइएको हो । “टमाटर प्रतिकेजी ६०, बोडी प्रतिकेजी २० मा बेचेका छौं,” किसान अनुप सुवेदीले भने, “पसलेले कतिमा बेच्छन् हामीलाई थाहा भएन ।” तर खुद्रा पसलमा भने टमाटर १ सय १० रुपैयाँ, बोडी प्रतिकेजी ६० रुपैयाँसम्म बेच्ने गरेका छन् । भरतपुर महानगरपालिका १२ की वागमती श्रेष्ठ किसानको बारीमा तरकारी खेर गए पनि आफूले भने चर्को मूल्यमा तरकारी खरिद गर्नुपरेको बताउंँछिन् । “लकडाउनअघि औसत रूपमा सबै तरकारी ५० देखि ७० रुपैयांँ पाइए पनि अहिले जुनसुकै तरकारी प्रतिकेजी १०० रुपैयांँभन्दा बढीमा किन्नु परेको छ,” उनले सुनाइन् । तर खुद्रा पसलले आफूले पनि अन्य व्यापारीसंँग खरिद गरेकाले स्वभाविक रूपमा मूल्य बढी हुने तर्क राख्छन् ।








