चितवन । लोकतान्त्रिक खेलकुद संघ चितवनका अध्यक्ष तथा करातेका राष्ट्रिय रेफ्री एवम् अन्तर्राष्ट्रिय खेलाडी कृष्ण बहादुर नेपाल (सुजन) बागमती प्रदेश खेलकुद विकास परिषद्को सदस्यमा मनोनीत हुनुभएको छ। बागमती प्रदेश सरकारको निर्णयअनुसार उहाँलाई परिषद् सदस्यमा मनोनीत गरिएको हो।
खेलकुद क्षेत्रको विकास, प्रवर्द्धन तथा व्यवस्थापनमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका क्षेत्रीको यो मनोनयनलाई खेलकुद क्षेत्रका जानकारहरूले सकारात्मक रूपमा लिएका छन्। कराते खेलमा अन्तर्राष्ट्रिय स्तरसम्म नेपालको प्रतिनिधित्व गरिसक्नुभएका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा रेफ्रीको भूमिकामा समेत अनुभवी हुनुहुन्छ। उहाँले खेलाडी उत्पादन, प्रशिक्षक विकास तथा खेलकुदमा अनुशासन र व्यावसायिकताको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएको छ।
लोकतान्त्रिक खेलकुद संघ चितवनको अध्यक्षको हैसियतमा नेपालले जिल्लास्तरदेखि प्रदेशस्तरसम्म खेलकुद गतिविधि विस्तार, युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने अभियान तथा विभिन्न प्रतियोगिता आयोजना गर्दै आउनुभएको छ। उहाँको सक्रियताले चितवन जिल्लामा खेलकुदको वातावरण थप सशक्त बनेको छ।
प्रदेश खेलकुद विकास परिषद्को सदस्यका रूपमा मनोनीत भएपछि नेपालले बागमती प्रदेशमा खेलकुद पूर्वाधार विकास, खेलाडीको हकहित संरक्षण, तथा प्रतिभावान खेलाडीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
उहाँको मनोनयनले बागमती प्रदेशको खेलकुद क्षेत्रलाई थप मजबुत बनाउने विश्वास खेलकुदप्रेमीहरूले व्यक्त गरेका छन्। साथै, विभिन्न खेल संघ–संस्था तथा खेलाडीहरूले क्षेत्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।








