चितवन । चितवनमा हरेक वर्ष चैतेदसैँको अवसरमा आयोजना हुने विक्रमबाबा पूजाको तयारी यस वर्ष पनि सुरु गरिएको छ। चैत ५ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने यस पूजाका लागि विभिन्न व्यवस्थापनका काम तीव्र गतिमा अगाडि बढाइएका छन्। विक्रमबाबा पूजास्थल चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत कसरामा अवस्थित रहेको छ, जहाँ राप्ती पुलबाट करिब दुई किलोमिटर भित्र पुगेर दर्शन तथा पूजापाठ गर्न सकिन्छ।
यो पूजा विशेषगरी थारू समुदायमा परम्परागत रूपमा प्रचलित भए पनि पछिल्लो समय सबै जातजाति र समुदायका मानिसहरूले श्रद्धाका साथ सहभागी हुने गरेका छन्। सन्तान प्राप्ति, सुख-समृद्धि तथा मनोकामना पूरा हुने विश्वासका साथ भक्तजनहरू यहाँ पूजा गर्न आउने गर्छन्।
भरतपुर महानगरपालिका–२३ को संरक्षणमा मेला तथा पूजाको व्यवस्थापन गरिँदैछ। वडाध्यक्ष दीपक दवाडीका अनुसार पूजास्थल सरसफाइ, सडक मर्मत, प्रदर्शनीकक्ष निर्माण, स्वास्थ्य सेवा व्यवस्थापन लगायतका काम भइरहेको छ। पूजा व्यवस्थापनका लागि केरुङ्गा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष लालबहादुर दवाडीको संयोजकत्वमा समिति गठन गरिएको छ, जसमा पटिहानी मध्यवर्ती उपभोक्ता समितिको पनि सहभागिता रहनेछ। साथै निकुञ्ज प्रशासन, नेपाली सेना र स्थानीय सामुदायिक वन उपभोक्ता समितिहरूको समेत समन्वय रहने व्यवस्था मिलाइएको छ।
मेलालाई व्यवस्थित बनाउन सामुदायिक वन क्षेत्रमा करिब २५० वटा प्रदर्शनी कक्ष निर्माण गरी वितरण गरिनेछ। साथै सरसफाइ, खानेपानी, हेल्प डेस्क, दमकल, एम्बुलेन्स तथा पानी ट्याङ्कीको सुविधा पनि उपलब्ध गराइनेछ। विगत वर्षहरूको अनुभवका आधारमा यस वर्ष पनि छ लाखभन्दा बढी भक्तजन सहभागी हुने अनुमान गरिएको छ।
भक्तजनहरूका लागि बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म निकुञ्ज प्रवेश खुला रहनेछ भने निकुञ्ज बाहिरको मेला बिहान ५ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुनेछ। सुरक्षा व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीबीच समन्वय गरिनेछ। विशेषगरी पुल क्षेत्रमा हुने भीड नियन्त्रणका लागि नगर प्रहरीले लाइन व्यवस्थापन गर्नेछ।








