चितवन । भरतपुर महानगरपालिकाले फोहोर व्यवस्थापनलाई दीर्घकालीन रूपमा समाधान गर्न फोहोर प्रशोधन केन्द्र निर्माणको प्रक्रिया तीव्र पारेको छ। यसका लागि आवश्यक जग्गा प्राप्त गर्न वन मन्त्रालयसँग भइरहेको समन्वय अन्तिम चरणमा पुगेको जानकारी महानगरले दिएको छ। प्रस्तावित केन्द्र भरतपुर महानगरपालिका–११ भित्र पर्ने राष्ट्रिय वन क्षेत्रमा करिब १६ बिगाह क्षेत्रफलमा निर्माण गरिने योजना रहेको छ।
महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीका अनुसार उक्त जग्गाको भोगाधिकार प्राप्त गर्न तथा वृक्षरोपणसम्बन्धी दायित्व पूरा गर्न करिब तीन करोड रुपैयाँ बजेट छुट्याइएको छ। यसअघि नै महानगरपालिकाले पाँच करोड १९ लाख ७५ हजार रुपैयाँ मन्त्रालयलाई भुक्तान गरिसकेको छ। वन मन्त्रालयले वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदन तयार भई स्वीकृत भएपछि मात्र थप प्रक्रिया अघि बढाउने जनाएको छ।
अधिकारीका अनुसार वातावरणीय प्रभाव मूल्याङ्कनका लागि आवश्यक सम्पूर्ण कागजात र तथ्याङ्क मन्त्रालयमा पेश गरिसकिएको छ। मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि रूख कटान कार्य सुरु गरिनेछ। नियमअनुसार एक बिरुवा काट्दा १० बिरुवा रोप्नुपर्ने व्यवस्था छ, जसअनुसार वृक्षरोपण र त्यसको संरक्षणको जिम्मेवारी पनि महानगरले लिएको छ।
महानगरपालिकाको वातावरण महाशाखा प्रमुख विराट घिमिरेले जानकारी दिएअनुसार वृक्षरोपणको संरक्षणका लागि थप एक करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। यसले आगामी पाँच वर्षसम्म रोपिएका बिरुवाको संरक्षण सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।
हाल भरतपुर महानगरपालिकामा दैनिक ८० टनभन्दा बढी फोहोर उत्पादन हुने गरेको छ। उक्त फोहोरलाई अस्थायी रूपमा आँपटारी नजिकको खोल्सामा व्यवस्थापन गरिँदै आएको छ, जसले दीर्घकालीन समाधानको आवश्यकता झन् स्पष्ट पारेको छ। प्रस्तावित फोहोर प्रशोधन केन्द्र सञ्चालनमा आएपछि फोहोर व्यवस्थापन व्यवस्थित र वातावरणमैत्री बन्ने अपेक्षा गरिएको छ।








