चितवन । चितवन राष्ट्रिय निकुञ्जले विभिन्न अपराधमा संलग्न १२८ जनालाई पक्राउ गरेको जनाएको छ। चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म उनीहरूलाई नियन्त्रणमा लिइएको हो। निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार पक्राउ परेकामध्ये सबैभन्दा बढी अवैध रूपमा माछा मार्ने व्यक्तिहरू रहेका छन्। राप्ती नदी क्षेत्रमा मात्र ७० जना अवैध माछा मार्ने पक्राउ परेका छन् र उनीहरूलाई आवश्यक कानुनी कारबाही गरिएको छ।
त्यस्तै, वन्यजन्तुसँग सम्बन्धित अन्य मुद्दामा पनि विभिन्न व्यक्तिहरू समातिएका छन्। गैंडा सम्बन्धी मुद्दामा ३ जना, सालक सम्बन्धी मुद्दामा ५ जना, निउरो टिप्ने ११ जना तथा अवैध रूपमा घाँस–दाउरा संकलन गर्ने ३० जना पक्राउ परेका छन्। यसबाहेक, एक जना पंक्षी मार्ने, चार जना अनुमति बिना निकुञ्ज प्रवेश गर्ने र अन्य चार जनालाई समेत नियन्त्रणमा लिएर कारबाही गरिएको निकुञ्जले जनाएको छ।
यस अवधिमा निकुञ्ज प्रशासनले विभिन्न चार प्रकारका मुद्दा अदालतमा दर्ता गराएको छ। जसअन्तर्गत सालकसँग सम्बन्धित दुई वटा मुद्दा, सवारी साधनको ठक्करबाट गैंडा घाइते भएको एउटा मुद्दा र करेन्ट लगाएर गैंडा मारेको अर्को एउटा मुद्दा रहेका छन्।
निकुञ्जले यस आर्थिक वर्षमा कुल ९ वटा मुद्दाको फैसला गरिसकेको छ। गत आर्थिक वर्षबाट सरेका २६ वटा र यस वर्ष दर्ता भएको एउटा मुद्दामध्ये यी फैसला भएका हुन्। हालसम्म १८ वटा मुद्दा विचाराधीन अवस्थामा रहेका छन्। तीमध्ये ७ वटा वन सम्बन्धी र ११ वटा वन्यजन्तुसँग सम्बन्धित मुद्दा रहेका छन्।








