चितवन । चालु आर्थिक वर्षमा चितवन जिल्लामा ६२३ जना क्षयरोगबाट प्रभावित भएको तथ्य सार्वजनिक भएको छ। नियमित स्वास्थ्य परीक्षणका क्रममा पहिचान भएका संक्रमितमध्ये २७ जना १४ वर्षमुनिका बालबालिका रहेका छन्, जसमा चार जना चार वर्षभन्दा कम उमेरका छन्।
जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ अधिकृत जयराम दुवाडीका अनुसार साउन महिनादेखि हालसम्म ५,३८२ जनाको परीक्षण गरिएको थियो। तीमध्ये ६२३ जनामा क्षयरोग पुष्टि भएको हो। संक्रमितमध्ये २८७ जनामा नसर्ने प्रकारको क्षयरोग र ३३६ जनामा सर्ने प्रकारको क्षयरोग देखिएको छ। साथै सात जनामा औषधिले प्रभाव नपार्ने (ड्रग रेसिस्टेन्ट) क्षयरोग पनि भेटिएको छ।
हाल संक्रमितहरू जिल्लाभर रहेका १०७ वटा औषधि वितरण केन्द्रमार्फत नियमित उपचारमा रहेका छन्। क्षयरोग पहिचानका लागि जिल्लामा २८ वटा माइक्रोस्कोप सेवा केन्द्र र चारवटा ‘जिन एक्स्पर्ट’ परीक्षण सुविधा उपलब्ध छन्। माइक्रोस्कोप परीक्षणबाट ३,०८१ जनाको जाँच गर्दा १४३ जनामा संक्रमण पुष्टि भएको थियो भने ‘जिन एक्स्पर्ट’ प्रविधिबाट २,३०१ जनाको परीक्षण गर्दा ३०७ जनामा रोग देखिएको छ।
लैंगिक आधारमा हेर्दा संक्रमितमध्ये २३५ महिला र ३८८ पुरुष रहेका छन्। गत आर्थिक वर्षको तुलनामा यस वर्ष संक्रमितको संख्या घटेको देखिन्छ। गत वर्ष १,०८९ जनामा क्षयरोग पुष्टि भएको थियो भने २२ जनाको मृत्यु भएको थियो। त्यतिबेला १३,१०७ जनाको परीक्षण गरिएको थियो।
क्षयरोग माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस नामक ब्याक्टेरियाबाट हुने एक संक्रामक रोग हो। यसको प्रारम्भिक लक्षणहरूमा सामान्य थकान, कमजोरी महसुस हुनु, लगातार खोकी लाग्नु र ज्वरो आउनु पर्दछन्। धेरैजसो मानिसले यी लक्षणलाई सामान्य रूपमा लिने हुँदा रोग ढिलो पत्ता लाग्ने जोखिम हुन्छ।
विशेषगरी दुई हप्ताभन्दा बढी समयसम्म खोकी लागिरहने, ज्वरो कम नहुने वा स्वास्थ्य अवस्था बिग्रँदै जाने लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा गएर परीक्षण गराउनु आवश्यक हुन्छ। समयमै पहिचान र उपचार नगरेमा रोग जटिल बन्न सक्छ।
क्षयरोग लागेको अवस्थामा सूर्ति तथा सूर्तिजन्य पदार्थको सेवन पूर्ण रूपमा त्याग्नुपर्ने चिकित्सकहरूले सुझाव दिएका छन्। साथै अत्यधिक मदिरा सेवन, लागूपदार्थ र अनावश्यक औषधि प्रयोगबाट पनि टाढा रहनुपर्छ।
स्वास्थ्यकर्मीको सल्लाहअनुसार ६ देखि ८ महिनासम्म नियमित रूपमा निःशुल्क उपलब्ध हुने औषधि सेवन गर्नुपर्छ। औषधि सेवन सुरु गरेपछि बीचमै नछोडी पूरा अवधि सम्म निरन्तर उपचार गर्नु अत्यन्त महत्वपूर्ण हुन्छ। साथै उपचार अवधिभर स्वास्थ्य परीक्षण गरिरहनु आवश्यक रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।








