चितवन । नवौँ ‘मिस्टर हिमालय’ राष्ट्रिय शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिप २०८२ को उपाधि क्षितिज थापाले जितेका छन्। चितवनको भरतपुरमा भएको प्रतियोगितामा ७५ केजी तौल समूहका विजेता क्षितिजले ‘च्याम्पियन अफ दि च्याम्पियन’ बनेका हुन् । एक सय ४ खेलाडीलाई पछि पार्दै उपाधिसँगै ५ लाख रुपैयाँ नगद, ट्रफी प्राप्त गरेका छन् । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको आयोजनामा तथा चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको व्यवस्थापनमा भएको दुई दिने प्रतियोगितामा १६ विधामा प्रतिस्पर्धा भएको थियो।
तौल समूहतर्फ ५५ केजीमा बुटवल फिटनेस, रुपन्देहीका सुनिल आले प्रथम, किङ्स फिटनेस, बुटवलका सागर विके दोस्रो र कम्फर्ट जिम एन्ड फिटनेस सेन्टर, काठमाडौंका महेन्द्रबहादुर थापा मगर तेस्रो भएका छन् । ६० केजीमा ट्रान्क्विलिटी स्पा प्रालिका सुरेश दुवाल प्रथम, वि एन्ड एल फिटनेस, काठमाडौंका धर्मराज खापुङ दोस्रो र फिटनेस टाइम रुपन्देहीका राजेन्द्र सुनार तेस्रो भए । ६५ केजीमा भूमहि जिम एन्ड फिटनेसका नवराज डुम्ब्रे प्रथम, त्रिभुवन आर्मी क्लबका सुरज घले दोस्रो र बडी क्राफ्ट ललितपुरका परिष श्रेष्ठ तेस्रो भए।
७० केजीमा फ्रेन्ड्स फिटनेस दाङका अनिश रसाइली प्रथम, अल्टिमेट लिफ्टिङ क्लबका आशिम सिंह थापा दोस्रो र पावर फिजिकल फिटनेस सेन्टर काठमाडौंका सुसन श्रेष्ठ तेस्रो भए। ७५ केजीमा नेपाल व्यायाम मन्दिर काठमाडौंका क्षितिज थापा प्रथम, पावर फिजिकल फिटनेस काठमाडौंका योगेन्द्र श्रेष्ठ दोस्रो र फ्री स्टाइल एन्ड जिमका दीपककुमार तिमल्सिना तेस्रो भए। ८० केजीमा एपेक्स जिम काठमाडौंका दीपजंग रोका मगर प्रथम, हम्मर फिटनेस एन्ड जिमका निर्दोष घले दोस्रो र डिभाइन फिजिकल फिटनेस सेन्टर कालिमाटीका सगेन्द्र सिंह तेस्रो भए।
८० केजीमाथि ग्यालेक्सी फिटनेस झापाका ललित धिमाल पहिलो, श्याडो फिटनेस सेन्टरका रामशरण महर्जन दोस्रो र द जिम एक्स भक्तपुरका रिसब श्रेष्ठ तेस्रो भए। पुरुष एथलेटिक फिजिक १७० सेमी मुनि विधामा किङ्स फिटनेस बुटवलका रेशम राना प्रथम, जुम फिटनेसका रोहन राई दोस्रो र बुटवल फिटनेसका बिजेन्द्रमान श्रेष्ठ तेस्रो भए।








