चितवन । चितवनमा परीक्षा दिन गएका दुई विद्यार्थीको नारायणी नदीमा डुबेर मृत्यु भएको छ। भरतपुर–३ बाह्रघरेचोकस्थित मुनलाइट बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत भरतपुर–१६ शरणपुरका करिब १४ वर्षीय सनम रम्तेल र सोही स्थानका करिब १४ वर्षीय प्रशान्त क्षेत्रीको नदीको भङ्गालोमा डुबेर ज्यान गएको हो।
उनीहरूलाई उद्दार गरी भरतपुर अस्पताल लगिएको थियो। दिउँसो २:४० बजे चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिएका छन्। दुवै विद्यार्थी बिहान परीक्षा दिन विद्यालय पुगेका थिए।
त्यहाँ झोला राखेर कलम किन्न भन्दै दिउँसो करिब १२:५० बजे बाहिर निस्किएका उनीहरू पौडी खेल्न नजिकैको नदीमा पुगेका थिए। दिउँसो २ बजेतिर विपद् व्यवस्थापन टोलीले उनीहरूको उद्दार गरी अस्पताल पुर्याएको थियो।








