चितवन । हवाई इन्धनको मूल्य झण्डै दोब्बरले बढेपछि आन्तरिक उडानको भाडामा उल्लेख्य वृद्धि भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार इन्धन महँगिएसँगै हवाई भाडामा ‘फ्युल सर्चाज’ बढाइएको हो, जसका कारण विभिन्न रुटमा नयाँ भाडादर लागू भइसकेको छ।
यससँगै चितवनको भरतपुर–काठमाडौं उडान भाडा बढेर ५ हजार ९७३ रुपैयाँ २० पैसा पुगेको छ। यसअघि यही रुटमा ४ हजार ६ सय रुपैयाँ मात्र लाग्ने गरेको थियो। त्यस्तै भरतपुर–पोखरा रुटको भाडा ६ हजार १७३ रुपैयाँ कायम गरिएको छ।
काठमाडौं–धनगढी रुटमा अधिकतम भाडा २३ हजार ५९ रुपैयाँ पुगेको छ, जुन सबैभन्दा महँगोमध्ये एक हो। यस्तै काठमाडौं–भद्रपुर रुटमा न्यूनतम ९ हजार ९८९ रुपैयाँ २० पैसा र अधिकतम १५ हजार ८३७ रुपैयाँ तोकिएको छ।
काठमाडौं–विराटनगर उडानमा न्यूनतम ८ हजार ८८ रुपैयाँ ९० पैसा र अधिकतम १२ हजार ७६५ रुपैयाँ निर्धारण गरिएको छ भने काठमाडौं–जनकपुर रुटमा न्यूनतम ५ हजार ५६५ र अधिकतम ७ हजार ७० रुपैयाँ पुगेको छ।
काठमाडौं–पोखरा उडानको न्यूनतम भाडा ५ हजार १५ रुपैयाँ र अधिकतम ८ हजार ६०५ रुपैयाँ कायम गरिएको छ। त्यसैगरी काठमाडौं–भैरहवा रुटमा न्यूनतम ७ हजार ६ रुपैयाँ र अधिकतम ११ हजार १६ रुपैयाँ पुगेको छ।
काठमाडौं–नेपालगञ्ज उडान भाडा पनि वृद्धि भई न्यूनतम १० हजार ८ सय र अधिकतम १७ हजार १४८ रुपैयाँ पुगेको छ।
वायुसेवा सञ्चालकहरूले डलरको मूल्यवृद्धि र इन्धन महँगो हुनुका कारण हवाई सेवा सञ्चालन चुनौतीपूर्ण बनेको बताएका छन्।








