गैँडाकोट । गैँडाकोट नगरपालिकाद्वारा सञ्चालित शैक्षिक सत्र २०८२ को नगर स्तरीय वार्षिक परीक्षामा गैँडाकोट नमुना मा.वि. ले उत्कृष्ट नतिजा हासिल गर्दै आफ्नो शैक्षिक साखलाई पुनः एकपटक उँचो पारेको छ। यही चैत २६ गते सम्पन्न परीक्षाको सार्वजनिक नतिजाले विद्यालयको शैक्षिक गुणस्तर र आधुनिक शिक्षण पद्धतिको प्रभावकारितालाई पुन: पुष्टि गरेको छ।
यस वर्षको नतिजामा विशेष आकर्षणको रूपमा कक्षा ५ का ६ जना विद्यार्थीहरू— आराध्या लम्साल, अश्मी सुवेदी, सृष्टि पोखरेल, स्मृति पौडेल, प्राञ्जल घिमिरे र रोनक थापा क्षेत्रीले पूर्ण (४.०) GPA प्राप्त गरी संस्थाको गरिमालाई उच्च बनाएका छन्।
विद्यालयले सार्वजनिक गरेको विवरण अनुसार, कक्षा ५ मा ९० जना विद्यार्थी सहभागी थिए, जसमध्ये ५० जनाले ३.६ देखि ४.० सम्मको उत्कृष्ट ग्रेड प्राप्त गरेका छन्। त्यस्तै, कक्षा ८ मा ७६ जना विद्यार्थी सहभागी भएकोमा २४ जनाले ३.६ देखि ४.० सम्मको नतिजा ल्याउन सफल भएका छन्। कक्षा ८ मा आषिका खड्का, जेनिशा श्रेष्ठ र सिवानी खड्काले ३.९७ GPA प्राप्त गर्दै सर्वाधिक अङ्क हासिल गरी विद्यालयलाई गौरवान्वित तुल्याएका छन्।
विद्यालयका प्रधानाध्यापकले यस सफलताको श्रेय विद्यार्थीको लगनशीलता, शिक्षकहरूको मिहिनेत र विद्यालयद्वारा कार्यान्वयन गरिएको ‘७ए’ (7A) एकेडेमिक फ्रेमवर्कलाई दिएका छन्। उनले भने, “४ GPA ल्याउने हाम्रा विद्यार्थीहरूको उपलब्धिले हाम्रो ‘प्रोजेक्ट-बेस्ड लर्निङ’ (PBL) र ‘फ्लिप्ड क्लासरूम’ मोडेलको सार्थकतालाई प्रमाणित गरेको छ। विद्यालयको शैक्षिक सुधारमा शिक्षक-अभिभावक सहकार्य र सिकाइ प्रक्रियामा अभिभावकको सक्रिय संलग्नता (Parental Involvement) को भूमिका महत्त्वपूर्ण छ।”
आगामी शैक्षिक सत्र २०८३ को तयारीलाई थप व्यवस्थित बनाउन विद्यालयले विशेष कार्ययोजना सार्वजनिक गरेको छ। यही वैशाख २ गतेदेखि ‘७ए’ एकेडेमिक फ्रेमवर्क, डिजिटल शिक्षण विधि, ‘ह्यान्ड-राइटिङ ट्रेनिङ’ र शिक्षक-अभिभावक सहकार्य सम्बन्धी विशेष तालिमहरू सञ्चालन गरिनेछ। वैशाख २ गतेबाटै अभिभावकहरूले विद्यालयको शैक्षिक गतिविधिबारे प्रत्यक्ष वा डिजिटल माध्यमबाट बुझ्न सक्ने व्यवस्था मिलाइएको छ।
त्यस्तै, नयाँ शैक्षिक सत्रलाई थप प्रविधिमैत्री बनाउन विद्यालयले अर्को फड्को मार्दै कक्षा ३ देखि १२ सम्मका विद्यार्थीहरूका लागि अनिवार्य रूपमा कोडिङ (Coding), रोबोटिक्स (Robotics) र आर्टिफिसियल इन्टेलिजेन्स (AI) को कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ। ‘स्मार्ट क्लासरूम’ को विस्तार र अनुसन्धानमा आधारित शिक्षण पद्धतिलाई अझ सुदृढ गर्दै गैँडाकोट नमुना मा.वि. आफ्ना विद्यार्थीहरूलाई विश्वस्तरीय प्रतिस्पर्धी बनाउने प्रतिबद्धता जनाएको छ। नतिजाको यस ऐतिहासिक लहरले अभिभावकहरूमा विद्यालयप्रतिको विश्वास थप सुदृढ बनाएको छ भने विद्यार्थीहरूमा नयाँ शैक्षिक सत्रप्रति विशेष उत्साह थपेको छ।








