दमौली । पर्यटकीय नगरी बन्दीपुरमा पछिल्लो समय पर्यटकको चहलपहल उल्लेखनीय रूपमा बढेको छ। सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै विशेषगरी आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएको हो। पहिले शुक्रबार र शनिबार मात्र पर्यटकको भीड हुने बन्दीपुरमा अहिले आइतबार पनि उल्लेख्य संख्यामा आगन्तुक पुग्न थालेका छन्।
बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानका अनुसार आइतबारको बिदाले पर्यटक आगमनमा सकारात्मक प्रभाव पारेको छ। उहाँले सर्वसाधारणमा घुम्ने संस्कृतिको विकास हुँदै गएको र थप बिदाले त्यसलाई अझ प्रोत्साहन गरेको बताउनुभयो। उहाँका अनुसार पछिल्लो आइतबार मात्रै एक हजारभन्दा बढी पर्यटक बन्दीपुर पुगेका थिए, जुन अघिल्ला आइतबारको तुलनामा निकै उच्च हो।
स्थानीय पर्यटन व्यवसायी वैशबहादुर गुरुङले पनि दुई दिने बिदाको निर्णयले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार बढ्दो घुमफिर संस्कृतिले बन्दीपुरलाई थप आकर्षक गन्तव्य बनाउँदै लगेको छ।
बन्दीपुर गाउँपालिकाले सन् २०२५ मा सञ्चालन गरेको बन्दीपुर भ्रमण वर्षका क्रममा छ लाख ५० हजार पर्यटक भित्रिएका थिए। यस क्षेत्रका खड्गदेवी, थानीमाई, महालक्ष्मी मन्दिर, सिद्धगुफा, मणि मुकुन्दसेन पैदलमार्ग, तीनधारा, झरना, टुँडिखेल, दरबार र पदम पुस्तकालय प्रमुख आकर्षणका रूपमा चिनिन्छन्।
भक्तपुरे शैलीका घर, रानीबन, रामकोट, सुनखरी तथा अन्य ऐतिहासिक तथा प्राकृतिक स्थलहरूले बन्दीपुरलाई पर्यटकका लागि अझ आकर्षक बनाइरहेका छन्।








