एजेन्सी । जातिय विभेद भएको भन्दै च्याम्पियन्स लिग अन्तर्गत पेरिस सेन्ट जर्मेन (पीएसजी) र इस्तानबुल बेसाकसेहिरबीचको खेल स्थगित गरिएको छ । खेल सुरु भएको १५ मिनेटमै खेल स्थगित भएको हो । फोर्थ अफिसियल सेबास्टियन कोल्टेस्कुले इस्तानबुलका सहायक प्रशिक्षक पिएरे वेबोमाथि रंगभेद झल्कने गरी बेन्चतर्फ इंगित गर्दै मुख्य रेफ्रीलाई कार्ड दिन बताएका थिए । उनले बेन्चतर्फ इंगित गर्दा रंगभेदी व्यवहार गरेको आरोप इस्तानबुलका खेलाडीहरुले लगाए । पहिलो हाफको १५ मिनेट सकिँदा दुबै टोली गोलरहित बारबरीमा रोकिएका थिए । सोही क्रममा दुबै टोलीका खेलाडी मैदानमा विरोध गर्दै बाहिरिएका थिए ।लामो समय छलफल गर्दा पनि रेफ्री र दुई टोलीबीचका खेलाडीहरुको सहमति नहुँदा खेल रोकिएको थियो । दुबै टोलीले उक्त रेफ्रीलाई हटाएपछि मात्र मैदान फर्कने बताएका थिए । यसैबिच युइएफएले घटनाको निश्पक्ष छानविन गर्ने आश्वासन दिएको छ।








