चितवन । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र बढ्दो अतिक्रमण नियन्त्रण गर्न सार्वजनिक सूचना जारी गरेको छ। कार्यालयले वन क्षेत्र, सामुदायिक वन, निकुञ्जभित्रका सडक, खोला तथा नदी किनारमा अनधिकृत रूपमा बसोबास तथा संरचना निर्माण गरिएको पाइएकाले ती सबै तत्काल हटाउन निर्देशन दिएको हो।
सूचनाअनुसार, वन क्षेत्रभित्र अनुमति बिना निर्माण गरिएका घर, टहरा, गोठ, पर्खाल तथा खेतीपाती जस्ता संरचना १५ दिनभित्र खाली गर्नुपर्नेछ। निकुञ्ज प्रशासनले तोकिएको समयसीमा भित्र अतिक्रमण हटाउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ।
यदि उक्त समयभित्र अतिक्रमण हटाइएन भने कानुनी प्रक्रिया अगाडि बढाइने स्पष्ट पारिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई जरिवाना तथा कैद सजायसमेत हुन सक्ने चेतावनी दिइएको छ।
निकुञ्ज कार्यालयले प्राकृतिक स्रोत संरक्षण, जैविक विविधता जोगाउने र वन्यजन्तुको बासस्थान सुरक्षित राख्ने उद्देश्यले यस्तो कदम चालिएको जनाएको छ। साथै, सबै सरोकारवालालाई कानुनको पालना गर्दै अतिक्रमण हटाउन सहयोग गर्न अपिल गरिएको छ।









