चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गर्दै आएको “बेस्ट पुलिस अफ द मन्थ” सम्मानअन्तर्गत प्रहरी जवान भोजराज श्रेष्ठ सम्मानित भएका छन्। उनलाई २०८३ साल वैशाख महिनाको उत्कृष्ट प्रहरी कर्मचारी घोषणा गरिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनले जारी गरेको सम्मानपत्रअनुसार प्रहरी जवान श्रेष्ठले अपराध अनुसन्धान, फरार प्रतिवादी पक्राउ, शान्ति सुरक्षा कायम तथा संगठनले दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्दै उल्लेखनीय योगदान पुर्याएका थिए। विभिन्न अनुसन्धान तथा प्रहरी कारबाहीका क्रममा उनले सक्रिय र प्रभावकारी भूमिका निर्वाह गरेको कार्यालयले जनाएको छ।
विशेषगरी अनुसन्धान शाखामा कार्यरत रहँदा श्रेष्ठले प्राविधिक विश्लेषण, सूचना संकलन तथा अपराध अनुसन्धानमा दक्षता प्रदर्शन गरेका थिए। उनले जटिल घटनाको अनुसन्धानमा सहजीकरण गर्नुका साथै तथ्य र प्रमाण संकलनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको छ। प्रहरी संगठनले अवलम्बन गरेका नीति, निर्देशन तथा आचारसंहिताको पूर्ण पालना गर्दै उनले नागरिकमैत्री सेवा प्रवाहमा समेत उल्लेखनीय योगदान दिएको कार्यालयको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार प्रहरी संगठनभित्र उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा प्रोत्साहन गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी, जिम्मेवार र परिणाममुखी बनाउने उद्देश्यले प्रत्येक महिना “बेस्ट पुलिस अफ द मन्थ” छनोट गर्ने परम्परा रहेको छ। यस्तो सम्मानले प्रहरी कर्मचारीमा कार्यप्रेरणा अभिवृद्धि हुनुका साथै संगठनप्रतिको जिम्मेवारीबोध थप मजबुत हुने विश्वास कार्यालयले व्यक्त गरेको छ।
उक्त सम्मान जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरीले प्रहरी जवान श्रेष्ठलाई प्रदान गरेका हुन्। सम्मान कार्यक्रममा प्रहरी अधिकृत, विभिन्न शाखामा कार्यरत प्रहरी कर्मचारी तथा अन्य सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो।
प्रहरी संगठनले उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई सार्वजनिक रूपमा सम्मान गर्ने अभ्यासले संगठनभित्र प्रतिस्पर्धात्मक भावना विकास गर्नुका साथै सेवाको गुणस्तर सुधारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।








