चितवन । चितवनमा पछिल्ला केही दिनयता बढ्दो गर्मीका कारण विद्युत् खपत उल्लेखनीय रूपमा बढेको छ। विद्युत् माग बढेसँगै प्रसारण लाइन, वितरण लाइन तथा ट्रान्सफर्मरहरूमा अत्यधिक भार परेर न्यून भोल्टेजलगायतका समस्या देखिन थालेपछि नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले अत्यावश्यक बाहेकका विद्युतीय उपकरणहरूको प्रयोग कम गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
भरतपुर वितरण केन्द्रका प्रमुख राजेन्द्रकुमार चौधरीका अनुसार अत्यधिक गर्मीका कारण एयर कन्डिसनर, पंखा लगायतका उपकरणको प्रयोग बढ्दा विद्युत् प्रणालीमा चाप परेको छ। यसले ट्रान्सफर्मर पड्कने, तार पग्लने तथा जल्ने जस्ता समस्या सिर्जना गरिरहेको छ, जसका कारण विद्युत् आपूर्तिमा समेत अवरोध हुने गरेको उहाँले बताउनुभयो।
उहाँले एयर कन्डिसनर २६ डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा सञ्चालन गर्न, ग्राइन्डर, हिटरजस्ता उच्च क्षमताका उपकरण आवश्यक पर्दा मात्र प्रयोग गर्न तथा इस्त्री, ओभनलगायतका सामग्रीको प्रयोग सकेसम्म कम गर्न आग्रह गर्नुभएको छ।
यसैबीच, नेपाल विद्युत् प्राधिकरणको ग्रिड सबस्टेसन अटोमेसन आयोजनाअन्तर्गत भरतपुर महानगरपालिका–११ स्थित सबस्टेसनमा १० वटा फिडर अटोमेसन गर्ने काम भइरहेका कारण पनि विद्युत् आपूर्तिमा केही समस्या देखिएको चौधरीले जानकारी दिनुभयो। भार धान्न नसक्दा जनगुनासो बढेपछि वैशाख १६ गतेदेखि सुरु गरिएको अटोमेसन कार्य हाल रोकिएको उहाँले बताउनुभयो।
भरतपुर वितरण केन्द्रबाट दैनिक करिब ६५ मेगावाट विद्युत् खपत भइरहेको छ। केन्द्रको कुल क्षमता १८० मेगावाट रहेको भए पनि गर्मीका कारण खपत बढ्दै गएको छ। यस केन्द्रबाट चनौली वितरण केन्द्रमा समेत विद्युत् आपूर्ति हुने गर्दछ। हाल केन्द्रअन्तर्गत करिब ७५ हजार ग्राहक रहेका छन्। दुईवटा सबस्टेसनमार्फत ९०–९० मेगावाट विद्युत् आपूर्ति हुँदै आएको भए पनि गर्मीको समयमा सबै ग्राहकको बढ्दो खपतले प्रणालीमा थप दबाब सिर्जना गरेको प्राधिकरणले जनाएको छ।








