चितवन । भरतपुर महानगरपालिका–१० मा सञ्चालन हुँदै आएको शिव शम्भु मिष्ठान्न भण्डारलाई उपभोक्तालाई बासी तथा सडेगलेका खाद्य पदार्थ बिक्री तथा सेवन गराएको आरोपमा बन्द गरिएको छ। भरतपुर महानगरपालिकाको बजार अनुगमन टोलीले गरेको नियमित तथा आकस्मिक अनुगमनका क्रममा उक्त मिष्ठान्न भण्डारमा खाद्य स्वच्छता र गुणस्तरसम्बन्धी गम्भीर लापरबाही भेटिएको जनाएको छ।
महानगरपालिकाका अनुसार यसअघि पनि अनुगमनका क्रममा व्यवसायीलाई जरिवाना गरिएको थियो। साथै, खाद्य पदार्थको गुणस्तर कायम राख्न, उपभोक्ताको स्वास्थ्यप्रति संवेदनशील बन्न र कानुनी व्यवस्था पालना गर्न लिखित तथा मौखिक रूपमा पटक–पटक निर्देशन दिइएको थियो। तर, सम्बन्धित व्यवसायीले अनुगमन टोलीको सुझाव र निर्देशनलाई बेवास्ता गर्दै आएको पाइएको बताइएको छ।
हालै प्रमुख जिल्ला अधिकारीसहितको संयुक्त अनुगमन टोलीले आकस्मिक निरीक्षण गर्दा पुनः बासी, गुणस्तरहीन तथा सडेगलेका खाजा तथा खाद्य सामग्री उपभोक्तालाई बिक्री तथा सेवन गराइएको तथ्य फेला परेको थियो। अनुगमनका क्रममा खाद्य सुरक्षासम्बन्धी मापदण्ड उल्लङ्घन भएको देखिएपछि उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै मिष्ठान्न भण्डार तत्काल बन्द गराउने निर्णय गरिएको हो।
अनुगमन टोलीले खाद्य व्यवसाय सञ्चालन गर्दा स्वच्छता, गुणस्तर र कानुनी प्रावधानको पूर्ण पालना गर्न सबै व्यवसायीलाई आग्रह गरेको छ। उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने खालका गतिविधि गर्ने व्यवसायमाथि आगामी दिनमा पनि कडा निगरानी र आवश्यक कानुनी कारबाही जारी रहने महानगरपालिकाले जनाएको छ। बजारलाई सुरक्षित, स्वच्छ र उपभोक्तामैत्री बनाउन नियमित अनुगमनलाई थप प्रभावकारी बनाइने समेत सम्बन्धित निकायले स्पष्ट पारेको छ।










