चितवन । चितवन प्रहरीले अपहरण तथा सामूहिक जबरजस्ती करणी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घटनामा संलग्न कालिका नगरपालिका–७ निवासी सुमन दोङ उर्फ सुमन तामाङलाई लामो समयको खोजीपछि नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार २०७५ साल असार ७ गते राति करिब २ बजे मोटरसाइकलमा आएका दुई जना व्यक्तिले आफूहरू टाँडी प्रहरीबाट खटिएका सिआइडी प्रहरी भएको परिचय दिएका थिए। उनीहरूले पीडित महिलाको घरमा प्रवेश गरी केही आवश्यक सोधपुछ गर्नुपर्ने भन्दै पीडितका नाबालक छोरासहित महिलालाई साथमा जान दबाब दिएका थिए।
त्यसपछि उनीहरूले प्रहरी कार्यालय लैजाने बहानामा पीडितलाई जंगल क्षेत्रतर्फ लगेका थिए। त्यही क्रममा डर, धम्की तथा त्रास देखाएर दुई जनाले महिलामाथि सामूहिक जबरजस्ती करणी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। घटनापछि दुवै आरोपी फरार भएका थिए।
यस घटनामा संलग्न कालिका नगरपालिका–३ निवासी पुटम थिङलाई यसअघि नै पक्राउ गरी अनुसन्धान गरिएको थियो। अदालतले उनलाई अपहरण तथा जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दै १९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो।
अर्का फरार प्रतिवादी सुमन तामाङलाई खोजी गर्ने क्रममा इलाका प्रहरी कार्यालय रत्ननगर, टाँडीबाट खटिएको प्रहरी टोलीले जेठ २२ गते पक्राउ गरेको हो। पक्राउपछि उनलाई चितवन जिल्ला अदालतमा उपस्थित गराइएको थियो।
अदालतको आदेशअनुसार सुमन तामाङलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रहरीले घटनासम्बन्धी थप कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ।








