गैँडाकोट । अक्सफोर्ड माध्यमिक विद्यालय, गैँडाकोट–२ द्वारा कक्षा ११ मा नवप्रवेश गरेका विद्यार्थी तथा अभिभावकहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रम भव्य र प्रभावकारी रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालयका विभिन्न विभागका प्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
विद्यालयका प्रधानाध्यापक प्रा. डा. इन्जिनियर हरि भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा +२ व्यवस्थापन विभाग प्रमुख हरिप्रसाद थपलियाले स्वागत मन्तव्य व्यक्त गर्दै नवप्रवेशी विद्यार्थीहरूलाई विद्यालय परिवारमा स्वागत गर्नुभयो। उहाँले विद्यालयको शैक्षिक वातावरण, अनुशासन, मूल्य र उत्कृष्टताप्रतिको प्रतिबद्धताबारे जानकारी गराउँदै विद्यार्थीहरूलाई अध्ययनमा केन्द्रित हुन प्रेरित गर्नुभयो।
कार्यक्रममा +२ विज्ञान विभाग प्रमुख जगतबहादुर बानियाँले कक्षा ११ को शैक्षिक संरचना, मूल्याङ्कन प्रणाली, अतिरिक्त क्रियाकलाप, आचारसंहिता तथा अध्ययन–अध्यापन प्रक्रियाबारे विस्तृत जानकारी दिनुभयो। उहाँले विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा विद्यालयले विशेष ध्यान दिँदै आएको उल्लेख गर्नुभयो।
प्रधानाध्यापक प्रा. डा. इन्जिनियर हरि भण्डारीले विद्यालयको २६ वर्ष लामो शैक्षिक यात्राको समीक्षा गर्दै शिक्षा क्षेत्रमा पुर्याएको योगदान, प्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपलब्धि तथा आगामी योजनाबारे प्रकाश पार्नुभयो। उहाँले शिक्षा केवल परीक्षा उत्तीर्ण गर्ने माध्यम नभई जिम्मेवार, सक्षम र नैतिक नागरिक निर्माण गर्ने आधार भएको बताउँदै विद्यार्थीहरूलाई अनुशासित, मेहनती र लक्ष्यप्रति समर्पित बन्न आग्रह गर्नुभयो।
कार्यक्रममा विद्यार्थीहरूले स्वागत नृत्य, समूह लोकनृत्य तथा अन्य सांस्कृतिक प्रस्तुति प्रस्तुत गरी वातावरणलाई थप आकर्षक बनाएका थिए। नवप्रवेशी विद्यार्थीहरूको तर्फबाट प्रतिनिधि विद्यार्थीले आफ्ना अनुभव र अपेक्षा व्यक्त गरेका थिए भने अभिभावक प्रतिनिधिहरूले विद्यालयप्रति विश्वास व्यक्त गर्दै गुणस्तरीय शिक्षाको क्षेत्रमा विद्यालयले खेलिरहेको भूमिकाको प्रशंसा गरेका थिए।
कार्यक्रममा सहभागी अभिभावक तथा विद्यार्थीहरूले अभिमुखीकरण कार्यक्रम उपयोगी, जानकारीमूलक तथा प्रेरणादायी रहेको प्रतिक्रिया दिएका थिए। समापनका क्रममा उप–प्रधानाध्यापक तथा कार्यक्रम सञ्चालक कृष्णहरि पौडेलले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई विद्यालयको वातावरणसँग सहज रूपमा घुलमिल हुन तथा आगामी शैक्षिक यात्राका लागि आवश्यक आत्मविश्वास र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।








