नवलपुर । स्वास्थ्य, फिटनेस र मनोरञ्जनलाई एकसाथ जोड्ने उद्देश्यका साथ नवलपुरमा नेपालकै पहिलो भव्य ‘अक्वा जुम्बा’ कार्यक्रम आयोजना हुने भएको छ। द चितवन युनिटीको आयोजनामा आगामी असार ६ गते नवलपुरको हर्कपुरस्थित इला होटलमा एकदिने विशेष कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।
होटलको स्विमिङ पुलमा सञ्चालन हुने कार्यक्रममा चितवन, नवलपुर तथा आसपासका क्षेत्रका स्वास्थ्यप्रेमी युवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। पानीभित्र संगीतको तालमा गरिने जुम्बा अभ्यासलाई अक्वा जुम्बा भनिन्छ, जुन पछिल्लो समय विश्वभर लोकप्रिय बन्दै गएको फिटनेस गतिविधिका रूपमा परिचित छ।
आयोजकका अनुसार यस प्रकारको ठूलो तथा व्यवस्थित अक्वा जुम्बा कार्यक्रम नेपालमै पहिलोपटक आयोजना हुन लागेको हो। परम्परागत व्यायामभन्दा फरक शैलीमा सञ्चालन हुने यो अभ्यासमा पानीको घनत्वका कारण शरीरका जोर्नीमा कम दबाब पर्छ भने बढी क्यालोरी खर्च हुने भएकाले स्वास्थ्यका दृष्टिले समेत प्रभावकारी मानिन्छ।
कार्यक्रममा नेपालका अनुभवी तथा प्रमाणित जुम्बा प्रशिक्षकहरूले प्रशिक्षण तथा फिटनेस सत्र सञ्चालन गर्नेछन्। ठूलो संख्यामा सहभागी पानीभित्र रहने भएकाले सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ। कार्यक्रम अवधिभर तालिमप्राप्त लाइफगार्ड, आकस्मिक उपचार टोली तथा आवश्यक मेडिकल ब्याकअपको व्यवस्था गरिनेछ।
कार्यक्रमलाई थप आकर्षक बनाउन पानीभित्र विशेष फोटो बुथ, अत्याधुनिक ड्रोन फोटोग्राफी, लाइभ डिजे प्रस्तुति तथा सहभागीहरूका लागि लक्की ड्रमार्फत विभिन्न सरप्राइज उपहारको समेत व्यवस्था गरिएको छ। यसले कार्यक्रमलाई मनोरञ्जनात्मक र स्मरणीय बनाउने विश्वास आयोजकको छ।
कार्यक्रम संयोजक सागर विश्वकर्माका अनुसार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने कार्यक्रममा सहभागी हुन प्रति व्यक्ति एक हजार पाँच सय रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ। स्वास्थ्यप्रति सचेत नागरिकलाई लक्षित गर्दै आयोजना गरिएको यस कार्यक्रमले फिटनेस संस्कृतिको प्रवर्द्धन गर्नुका साथै नयाँ प्रकारको स्वास्थ्य–मनोरञ्जन गतिविधिप्रति आकर्षण बढाउने अपेक्षा गरिएको छ।








