चितवन । चितवनमा ट्याङ्करको ठक्करबाट एक जना वृद्ध पैदलयात्रीको मृत्यु भएको छ। नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार गोरखा पालुङटार नगरपालिका–८ निवासी ७९ वर्षीया जानुका देवी काराखेतीको बिहीबार बिहान उपचारका क्रममा निधन भएको हो।
प्रहरीका अनुसार रत्ननगर नगरपालिका–२ स्थित बकुलहर अस्पताल चोकमा बकुलहर अस्पतालबाट खैरहनीतर्फ गइरहेको ना ७ ख २८०६ नम्बरको ट्याङ्करले उनलाई ठक्कर दिएको थियो। सडक पार गर्ने क्रममा भएको उक्त दुर्घटनामा काराखेती गम्भीर घाइते भएकी थिइन्।
घटनापछि उनलाई तत्काल उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ। स्थानीयवासीले उक्त क्षेत्रमा सवारी साधनको तीव्र गति नियन्त्रण गर्न र सडक सुरक्षाका उपाय प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।








