चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झा ले पार्टीको प्रथम महाधिवेशन सञ्चालनका लागि उद्योगी–व्यवसायी वा व्यापारिक घरानाबाट चन्दा सङ्कलन नगरिएको स्पष्ट पार्नुभएको छ। महाधिवेशन स्थल भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले रास्वपाले परम्परागत राजनीतिक दलहरूले अपनाउँदै आएको व्यापारी तथा व्यावसायिक समूहलाई रसिद पठाएर आर्थिक सहयोग सङ्कलन गर्ने अभ्यासलाई निरन्तरता नदिएको बताउनुभयो।
प्रवक्ता झाले पार्टीले आफ्ना कार्यक्रम तथा महाधिवेशनका लागि आवश्यक आर्थिक स्रोत आन्तरिक रूपमा व्यवस्थापन गरेको उल्लेख गर्दै कुनै पनि व्यापारिक घराना, उद्योगी वा व्यवसायीलाई महाधिवेशनको नाममा आर्थिक सहयोग माग्दै रसिद नपठाइएको बताउनुभयो। “हामीले आफ्नो व्यवस्था आफैँ गरेका छौँ। महाधिवेशनका लागि भनेर कुनै व्यापारी वा घरानासँग चन्दा मागेका छैनौँ,” उहाँले भन्नुभयो।
रास्वपाले प्रथम महाधिवेशन सञ्चालनका लागि करिब चार करोड रुपैयाँ खर्च हुने अनुमान गरेको जनाएको छ। उक्त रकम पार्टीका सांसद, केन्द्रीय समिति सदस्य, विभिन्न विभागका पदाधिकारी तथा सदस्यबाट सङ्कलन हुने लेबी र महाधिवेशन प्रतिनिधिहरूबाट प्राप्त शुल्कमार्फत जुटाइने उहाँले जानकारी दिनुभयो।
झाका अनुसार पार्टीका सांसदहरूले प्रत्येक महिना १६ हजार ५०० रुपैयाँ लेबी बुझाउँदै आएका छन्, जसबाट मासिक रूपमा करिब ३२ लाख रुपैयाँ सङ्कलन हुने गरेको छ। त्यस्तै, केन्द्रीय समिति सदस्यहरूले वार्षिक २५ हजार रुपैयाँ योगदान गर्ने व्यवस्था रहेको उहाँले बताउनुभयो। महाधिवेशन प्रतिनिधिहरूबाट मात्र करिब डेढ करोड रुपैयाँ सङ्कलन हुने अनुमान गरिएको उहाँको भनाइ छ।
उहाँले पार्टीका शुभेच्छुक तथा समर्थकहरूलाई आन्तरिक रूपमा क्यूआर कोडमार्फत स्वेच्छिक सहयोगको व्यवस्था गरिएको जानकारी दिनुभयो। यद्यपि, त्यसलाई औपचारिक चन्दा सङ्कलन अभियानका रूपमा नलिइएको उहाँले स्पष्ट पार्नुभयो।
रास्वपामा आबद्ध अधिकांश नेता तथा कार्यकर्ताहरूको आफ्नै पेशा, व्यवसाय वा आयस्रोत रहेको उल्लेख गर्दै प्रवक्ता झाले पार्टी सञ्चालनका लागि बाह्य आर्थिक निर्भरता कम रहेको बताउनुभयो। महाधिवेशनमा सहभागी हुने नेता तथा प्रतिनिधिहरूले आफ्नो यातायात, बसोबास तथा अन्य व्यक्तिगत खर्च आफैँ व्यवस्थापन गर्ने अभ्यास रहेको पनि उहाँले जानकारी दिनुभयो।
“महाधिवेशनमा आउने टिकटको व्यवस्था आफैँ गरेका छौँ, होटल बुकिङ पनि आफैँ गर्ने हो,” उहाँले भन्नुभयो। राजनीतिमा संलग्न व्यक्तिहरूको वैकल्पिक पेशा वा आयस्रोत हुनुपर्ने धारणा राख्दै उहाँले आर्थिक सहयोग लिने क्रममा स्वार्थको प्रभाव पर्न सक्ने भएकाले त्यस्तो संस्कृतिबाट टाढा रहनुपर्ने बताए।
प्रवक्ता झाले राजनीतिक दलहरूले व्यापारिक घरानामा रसिद पठाएर चन्दा उठाउने परम्परा अन्त्य हुनुपर्ने धारणा पनि व्यक्त गर्नुभयो। निर्वाचनका बेला समेत रास्वपाले व्यापारी वा व्यवसायीसँग आर्थिक सहयोग नमागेको दाबी गर्दै उहाँले जनताको सेवा गर्ने उद्देश्यले राजनीतिमा आउने दलहरूले निजी स्वार्थसँग जोडिने अभ्यासबाट बच्नुपर्ने बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुर मा आयोजना हुँदैछ। महाधिवेशनमार्फत पार्टीको आगामी संगठनात्मक संरचना, नीति तथा कार्यदिशाबारे महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ।








