चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने बन्दसत्र आज दिउँसो २ बजेदेखि सुरु हुने भएको छ। प्रारम्भिक कार्यतालिकाअनुसार सोमबार बिहान ८ः३० बजे सुरु गर्ने तयारी भए पनि प्राविधिक कारणले बन्दसत्र एक दिनपछि सारिएको पार्टीले जनाएको छ।
रास्वपा चितवनका सभापति ई. मिनीमाधव खनालका अनुसार महाधिवेशन प्रतिनिधिहरूलाई परिचयपत्र वितरणको प्रक्रिया पूरा भएपछि बन्दसत्र औपचारिक रूपमा सुरु हुनेछ। आज बिहानदेखि नै प्रतिनिधिहरूलाई परिचयपत्र वितरण गर्ने कार्य जारी रहेको छ।
पार्टीका अनुसार विभिन्न प्रदेशबाट प्राप्त प्रतिनिधिहरूको नामावली रुजु गर्ने, विवरण प्रमाणित गर्ने तथा महाधिवेशन प्रतिनिधि कार्ड छपाइ गर्ने कार्य अपेक्षाभन्दा बढी समय लागेकाले बन्दसत्र निर्धारित समयमा सञ्चालन हुन सकेन। आवश्यक तयारी पूरा भइसकेपछि भने पूर्वनिर्धारित कार्यसूचीअनुसार नै बन्दसत्र सञ्चालन गरिने जानकारी दिइएको छ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको प्रारम्भमा अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन्। उक्त प्रतिवेदनमाथि प्रतिनिधिहरूले छलफल गर्ने कार्यक्रम तय गरिएको छ। त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नेछिन्, जसबारे पनि बन्दसत्रमा विस्तृत छलफल गरिनेछ।
त्यसपश्चात् सहमहामन्त्री विपीनकुमार आचार्यले पार्टी विधान संशोधनसम्बन्धी प्रस्ताव पेश गर्नेछन्। त्यसैगरी महामन्त्री बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको अर्थ तथा राजनीतिक प्रस्ताव बन्दसत्रसमक्ष राख्ने कार्यक्रम रहेको छ। यी सबै प्रस्तावहरू क्रमशः छलफलपछि अनुमोदनका लागि प्रस्तुत गरिनेछन्।
पार्टीका पदाधिकारीहरूले प्रस्तुत गर्ने विभिन्न प्रतिवेदन तथा प्रस्तावहरू पारित भएपछि सभापति रवि लामिछानेले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ। उक्त प्रतिवेदनमाथि प्रतिनिधिहरूबीच व्यापक छलफल हुने र पार्टीको आगामी राजनीतिक दिशा तथा रणनीतिबारे सुझावहरू संकलन गरिने अपेक्षा गरिएको छ।
यसैबीच, सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठन गर्ने प्रस्तावसमेत बन्दसत्रमा राख्ने तयारी गरेका छन्। उक्त प्रस्तावअनुसार आयोजक समितिको सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गरिनेछ। त्यसपछि निर्वाचन आयोगले नेतृत्व चयन प्रक्रिया, निर्वाचनको कार्यतालिका तथा आवश्यक निर्देशिकाबारे जानकारी गराउने कार्यक्रम रहेको छ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आइतबार दिउँसो भरतपुरस्थित गेस्टहाउस चौरमा उद्घाटन गरिएको थियो। उद्घाटन सत्रपछि महाधिवेशनका अन्य कार्यक्रमहरू उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा सञ्चालन भइरहेका छन्। बन्दसत्रमार्फत पार्टीको भावी नेतृत्व, संगठनात्मक संरचना तथा नीतिगत दिशाबारे महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ।








