चितवन । चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदका लागि तीन जना चिकित्सकको नाम सिफारिस गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार डा. विजयचन्द्र आचार्य, डा. अजयकुमार झा र डा. योगेन्द्र प्रसाद सिंहको नाम अन्तिम सिफारिस सूचीमा परेको हो।
मन्त्रालयले यसअघि गत जेठ २७ गते अध्यक्ष पदका लागि आवेदन दिएका उम्मेदवारमध्ये सात जनाको नाम अल्पसूचीमा सार्वजनिक गरेको थियो। अल्पसूचीमा परेका उम्मेदवारहरूबाट अस्पतालको विकास तथा व्यवस्थापनसम्बन्धी कार्ययोजना पत्रसमेत माग गरिएको थियो। प्राप्त कार्ययोजना र अन्तर्वार्ताका आधारमा तीन जनाको नाम सिफारिस गरिएको मन्त्रालयले जनाएको छ।
अध्यक्ष पदका लागि स्वास्थ्य मन्त्रालयले गत वैशाख १५ गते सात दिनको समयसीमा तोकेर खुला आवेदन आह्वान गरेको थियो। उक्त पदका लागि कुल आठ जनाले आवेदन दिएका थिए। तीमध्ये आवश्यक योग्यता र मापदण्ड पूरा गरेका उम्मेदवारलाई छनोट प्रक्रियामा समावेश गरिएको थियो।
यसपटक अध्यक्ष छनोट प्रक्रिया बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ अनुसार अघि बढाइएको हो। ऐनमा चिकित्साशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरी क्यान्सर रोगसम्बन्धी क्षेत्रमा कम्तीमा १५ वर्ष वा समग्र स्वास्थ्य क्षेत्रमा २० वर्षको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्ने व्यवस्था छ।
अस्पतालको अध्यक्ष पदको कार्यकाल तीन वर्ष रहने कानुनी प्रावधान छ। यसअघि उक्त जिम्मेवारी डा. विजयराज न्यौपानेले सम्हाल्दै आएका थिए। नयाँ अध्यक्ष नियुक्तिसँगै अस्पतालको नीति निर्माण, व्यवस्थापन तथा सेवाको गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका रहने अपेक्षा गरिएको छ।








