चितवन । चितवनको खैरहनी नगरपालिकामा आफ्नै होटलमा काम गर्ने १७ वर्षीया बालिकालाई यौनजन्य दुर्व्यवहार गरेको आरोपमा एक होटल संचालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा खैरहनी नगरपालिका वडा नं. १० बस्ने ३५ वर्षीय विकास कुमार श्रेष्ठ रहेका छन्। उनी स्थानीय होटल नमस्ते मिलिजुली खाजा घरका संचालक हुन्।
चितवन प्रहरीका अनुसार गत असार ११ गते संचालक श्रेष्ठले ती बालिकालाई होटलको कोठामा बोलाएर शारीरिक सम्पर्क राखेबापत ५० हजार रुपैयाँ दिने प्रलोभन देखाएका थिए। बालिकाले उक्त प्रस्ताव अस्वीकार गर्दा पनि श्रेष्ठले जबरजस्ती उनको संवेदनशील अङ्गमा समातेर दुर्व्यवहार गरेका थिए। त्यसपछि पनि उनले पीडित बालिकाको ह्वाट्सएप र इन्स्टाग्राममा निरन्तर अश्लील शब्दहरू र भिडियोहरू पठाई मानसिक तनाव दिने गरेको खुलेको छ।
उक्त घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई असार २७ गते नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चन्द्र भुसन यादवका अनुसार पक्राउ परेका श्रेष्ठमाथि बालबालिका विरुद्धको कसुर अन्तर्गत थप अनुसन्धान कार्य अगाडि बढाइएको छ।








