चितवन । चितवन राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय वन क्षेत्रमा गत आर्थिक वर्ष २०८२/०८३ मा २२ वटा एकसिङ्गे गैंडाको मृत्यु भएको छ। निकुञ्जको तथ्यांकअनुसार असार मसान्तसम्म निकुञ्ज क्षेत्रमा २० वटा र राष्ट्रिय वन क्षेत्रमा दुई वटा गैंडा मरेका छन्।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अबिनास थापा मगरका अनुसार मृत्यु भएका गैंडामध्ये दुई वटा करेन्ट लागेर मरेका हुन् भने बाँकी सबै प्राकृतिक कारणले मरेका छन्। करेन्ट लागेर मृत्यु भएका गैंडामध्ये एउटा चितवनको माडीस्थित मध्यवर्ती क्षेत्रमा र अर्को नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को लोकाहा खोला नजिक राष्ट्रिय वन क्षेत्रमा फेला परेको थियो। घटनाबारे थप अनुसन्धान तथा निगरानी भइरहेको निकुञ्जले जनाएको छ।
थापा मगरका अनुसार अन्य गैंडाको मृत्यु दलदलमा फस्ने, आपसमा जुध्ने, वृद्धावस्थाका कारण कमजोर हुने तथा अन्य प्राकृतिक कारणबाट भएको हो। केही अवस्थामा बाघको आक्रमणबाट गैंडाका बच्चाको मृत्यु समेत भएको उनले जानकारी दिए। वन्यजन्तुको प्राकृतिक जीवनचक्र, बासस्थानको अवस्था तथा प्राकृतिक जोखिमका कारण यस्ता घटना समय–समयमा हुने गरेको निकुञ्जको भनाइ छ।
अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा भने ३० वटा गैंडाको प्राकृतिक कारणले मृत्यु भएको थियो। तीमध्ये दुई वटा राष्ट्रिय वन क्षेत्रमा तथा बाँकी चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा मरेका थिए। यस वर्षको तथ्यांकसँग तुलना गर्दा गैंडाको मृत्यु संख्या केही घटेको देखिएको छ।
चितवन राष्ट्रिय निकुञ्ज नेपालमा एकसिङ्गे गैंडाको प्रमुख बासस्थानका रूपमा परिचित छ। सन् २०२१ मा गरिएको राष्ट्रिय गैंडा गणनाअनुसार निकुञ्जमा ६९४ वटा वयस्क गैंडा रहेका छन्। संरक्षण प्रयास प्रभावकारी भए पनि प्राकृतिक जोखिम, मानव–वन्यजन्तु द्वन्द्व तथा करेन्टजस्ता अवैध गतिविधि अझै पनि गैंडा संरक्षणका चुनौतीका रूपमा रहेको संरक्षणकर्मीहरूले बताएका छन्।








