चितवन । चितवन जिल्लामा स्क्रब टाइफस संक्रमणको जोखिम बढ्दो देखिएको छ। गत आर्थिक वर्षमा जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ११ हजार ४१९ जनाको परीक्षण गर्दा ८९३ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार संक्रमितमध्ये ६२१ जना चितवन जिल्लाकै बासिन्दा रहेका छन्। स्थानीय तहअनुसार सबैभन्दा धेरै संक्रमित रत्ननगर नगरपालिकामा २४६ जना भेटिएका छन्। त्यसपछि खैरहनी नगरपालिकामा ११७, भरतपुर महानगरपालिकामा ९०, राप्ती नगरपालिकामा ८२, कालिका नगरपालिकामा ६९, इच्छाकामना गाउँपालिकामा १० र माडी नगरपालिकामा सात जनामा संक्रमण पुष्टि भएको छ।
तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा सात हजार ९५ जनाको परीक्षण गर्दा एक हजार ५५ जनामा स्क्रब टाइफस संक्रमण देखिएको थियो। चालु आर्थिक वर्षमा भने यस रोगका कारण एक जनाको मृत्यु भएको कार्यालयले जनाएको छ।
स्क्रब टाइफस संक्रमित किर्ना (चिगर) को टोकाइबाट मानिसमा सर्ने जीवाणुजन्य रोग हो। यी किर्ना प्रायः मुसा तथा अन्य साना जनावरको शरीरमा पाइने भएकाले खेतबारी, झाडी तथा वन क्षेत्रको सम्पर्कमा आउने व्यक्तिमा संक्रमणको जोखिम बढी हुने स्वास्थ्यकर्मीहरू बताउँछन्।
यस रोगका प्रमुख लक्षणमा उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, पखाला लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने, अत्यधिक टाउको दुख्ने, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा देखिने र किर्नाले टोकेको स्थानमा कालो दाग (एस्कार) देखिनु पर्दछन्। समयमै उपचार नपाए रोग गम्भीर बन्न सक्ने भएकाले यस्ता लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा पुग्न चिकित्सकहरूले आग्रह गरेका छन्।
स्वास्थ्य कार्यालयले स्क्रब टाइफसबाट बच्न खेत, झाडी वा वन क्षेत्रमा जाँदा लामो बाहुलाको कपडा र बन्द जुत्ता लगाउन, शरीरको खुला भागमा कीटनाशक मलम प्रयोग गर्न, घर वरिपरि घाँसझार बढ्न नदिन, वातावरण सफा राख्न तथा मुसाको नियन्त्रणका लागि अन्न सुरक्षित रूपमा भण्डारण गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।








