चितवन । जिल्ला हुलाक कार्यालय, चितवनले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति तथा स्वतः प्रकाशन विवरण सार्वजनिक गर्दै वित्तीय, प्रशासनिक र सेवा प्रवाहका विभिन्न उपलब्धिहरू सार्वजनिक गरेको छ। सूचनाको हक सम्बन्धी ऐनअनुसार सार्वजनिक गरिएको विवरणमा कार्यालयको साङ्गठनिक अवस्था, बजेट कार्यान्वयन, राजस्व संकलन तथा सञ्चार क्षेत्रसँग सम्बन्धित गतिविधिहरू समेटिएका छन्।
कार्यालय प्रमुख शालिकराम बस्यालका अनुसार समीक्षा अवधिमा कार्यालयले ९१.११ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ। वार्षिक विनियोजित रु. ६ करोड ३३ लाख ६१ हजार ११८ बजेटमध्ये रु. ५ करोड ७७ लाख ३२ हजार ९९९ खर्च भएको उहाँले जानकारी दिनुभयो।
राजस्व संकलनतर्फ पनि कार्यालयले उल्लेखनीय उपलब्धि हासिल गरेको छ। गत आर्थिक वर्षमा कुल रु. १ करोड ९ लाख १७ हजार ६०७ राजस्व संकलन भएको छ। यसमध्ये हुलाक टिकट बिक्रीबाट रु. ५८ लाख ७२ हजार ६८० तथा काउन्टर अटोमेशन, पार्सल सेवा, रोयल्टीलगायत अन्य सेवा शुल्कबाट रु. ५० लाख ४४ हजार ९२७ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।
नेपाल सरकारको ‘एक स्थानीय तह, एक हुलाक’ अवधारणाअनुसार चितवनमा नयाँ साङ्गठनिक संरचना कार्यान्वयनमा आएको छ। हाल जिल्लाका राप्ती, खैरहनी, रत्ननगर, कालिका, माडी नगरपालिका तथा इच्छाकामना गाउँपालिकामा पालिका हुलाक कार्यालय सञ्चालनमा छन्। त्यस्तै भरतपुर महानगरपालिकाभित्र चनौली, जगतपुर र नारायणगढमा तीन हुलाक काउन्टर तथा १२ वटा अतिरिक्त हुलाक कार्यालयमार्फत सेवा प्रवाह भइरहेको छ।
मानव स्रोत व्यवस्थापनतर्फ स्वीकृत ५३ दरबन्दीमध्ये ४९ पदमा कर्मचारी कार्यरत छन्। तीमध्ये २६ जना स्थायी र २३ जना करार सेवामा रहेका छन् भने चार पद रिक्त छन्। सेवा विस्तारका लागि २२ जना अतिरिक्त हुलाक जनशक्ति पनि परिचालन गरिएको कार्यालयले जनाएको छ।
सञ्चार क्षेत्रको प्रवर्द्धनमा समेत कार्यालय सक्रिय देखिएको छ। समीक्षा अवधिमा जिल्लाका ३५ वटा सञ्चार माध्यमलाई रु. ६० लाख २४ हजार ४०३ बराबरको लोककल्याणकारी विज्ञापन भुक्तानी गरिएको छ। साथै १७ वटा एफएम रेडियोको नवीकरण, २२ जना पत्रकारलाई प्रेस परिचयपत्र वितरण तथा १९ वटा अनलाइन सञ्चार माध्यमको दर्ता तथा नवीकरण सम्पन्न गरिएको कार्यालय प्रमुख बस्यालले जानकारी दिनुभयो।








